विदेश

बंगलादेशमा शेख हसिना चौंथो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित

हिमालय टिभी
२०८० पुष २३ गते ९:१३
बंगलादेशमा शेख हसिना चौंथो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित

२३ पुस २०८० ढाका । बंगलादेशमा हिजो सम्पन्न विवादास्पद आमचुनावमा प्रधानमन्त्री शेख हसिना चौथो कार्यकालका लागि पुनः निर्वाचित भएकी छन् ।

प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टी र उनका सहयोगी दलहरुले ३ सय संसदीय सिटमध्ये कम्तीमा १ सय ५२ सिटमा जित हासिल गरेका छन् । सन २००९ देखि सत्तामा रहेकी हसिनाले अर्को पाँच वर्ष कार्यभार सम्हाल्ने छिन्।

प्रमुख प्रतिपक्षी र अन्य केही साना दलले निष्पक्षतामा प्रश्न उठाउँदै बहिष्कार गरेको चुनावमा करिब ४० प्रतिशत मत खसेको थियो । प्रतिपक्षिविहीन र न्यून मतदान भएकाले निर्वाचनको स्वच्छता र विश्वसनीयतामाथि नै प्रश्न उब्जिएको छ ।

दुई शक्तिशाली महिला नेतृहरु प्रधानमन्त्री हसिना र विपक्षी दल बीएनपीकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाबीचको वैमनस्यले बंगलादेशको राजनीति अस्थिर रहँदै आएको छ ।

२०१८ मा अदालतले जियालाई भ्रष्टाचारका दुई फरक मुद्दामा दोषी ठहर गर्दै १७ वर्षको जेल सजाय सुनाएको थियो । हाल उनी घरमै नजरबन्दमा छिन् । प्रधानमन्त्री हसिनाको नेतृत्वमा सन् २००९ देखि अविश्वसनीय आर्थिक सफलता हासिल गरेको छ।

छिमेकी भारतलाई पनि उछिनेर यस क्षेत्रको सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र भएको मुलुक बनेको छ । पछिल्लो दशकमा यसको प्रतिव्यक्ति आय तीन गुणाले बढेको छ । विश्व बैंकले विगत २० वर्षमा २५ करोडभन्दा बढी मानिस गरिबीबाट मुक्त भएको अनुमान गरेको छ । बंगलादेश चीन पछि विश्वको दोस्रो ठूलो कपडा उत्पादक मुलुक हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *