माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७३ करोड ५० लाख बिगो दाबी
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपाल र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजालसमेत ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीहरूलाई रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिको नाममा रहेको सरकारी सार्वजनिक सम्पत्ति हुने हदबन्दी छुटअन्तर्गत प्राप्त जग्गा बदनियत राखी सट्टापट्टा बिक्री गर्न दिने गरी निर्णय गरेगराएको भन्नेसमेत बेहोराको प्राप्त उजुरीमा अनुसन्धानपछि मुद्दा दायर गरिएको हो ।
तत्कालीन सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री रिजाललाई मन्त्रिपरिषद्को सामाजिक समितिका संयोजकका हैसियतमा प्रतिवादी बनाइएको हो। उनीहरूका लागि झन्डै ७३ करोड ५० लाख रुपैयाँको बिगो कायम गरिएको छ । अन्य प्रतिवादीहरूमा तत्कालीन भूमिसुधार तथा व्यवस्थासचिव छविराज पन्तलगायका सरकारी अधिकारीहरू एवं रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिका सञ्चालकहरू समेत छन् ।
कतिपय प्रतिवादीहरूको मृत्यु भइसकेको हुँदा उनीहरूका परिवारका सदस्यहरूलाई पनि बिगो असुल गर्नका लागि प्रतिवादी बनाइएको आयोगको विज्ञप्तिमा उल्लेख छ । विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार अब प्रतिवादीहरूको ठेगाना पहिचान गरी उपस्थितिका लागि म्याद जारी गरिने छ। त्यसपछि उनीहरूको बयान लिने प्रक्रिया अघि बढाइने छ ।

प्रतिक्रिया