खेलकूद

काठमाडौंले कर्णालीको अपराजित यात्रामा लगाउला त ब्रेक ?

हिमालय टिभी
२०८३ कार्तिक १६ गते १७:३९
काठमाडौंले कर्णालीको अपराजित यात्रामा लगाउला त ब्रेक  ?

काठमाडौं :  नेपाल प्रिमियर लिग एनपीएलको १० औं खेलमा सोमबार काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दिउँसो साढे १२ बजे सुरु हुने यो खेलमा काठमाडौं पहिलो जितको खोजीमा हुनेछ भने कर्णाली अपराजित यात्रा कायम राख्दै प्लेअफको सम्भावना बलियो पार्ने दाउमा रहनेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली यस पटक उच्च लयमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको कर्णालीले दोस्रो खेलमा विराटनगर किङ्सलाई ४ विकेटले हराएको थियो ।

जनकपुरविरुद्ध १३३ रनको सामान्य योगफल रक्षा गर्दा उत्कृष्ट बलिङ नमुना पेश गरेको उसले दोस्रो खेलमा सुधारिएको ब्याटिङ प्रदर्शन गर्यो । जारी संस्करण हालसम्मकै उच्च लक्ष्य पछ्याउने क्रममा ५७ रनमात्र बनाउँदा मुख्य ५ ब्याटर आउट भइसकेको अवस्थामा मध्यक्रममा पवन सर्राफ, सोमपाल र गुल्शन झाले हातबाट फुत्किसकेको खेल फर्काए ।

सुरुवाती २ खेलको प्रदर्शनको आधारमा कर्णाली कुनै पनि बेला खेलमा फर्किन सक्ने टोलीको रुपमा लिन सकिन्छ । हालसम्म एकमात्र शतप्रतिशत जित हासिल गर्ने टोली कर्णाली ४ अंकसहित तालिकाको शीर्षस्थानमा छ ।

स्टार खेलाडीको सहभागीताका बाबजुद काठमाडौंले अपेक्षाकृत सुरुवात गर्न सकेन । आफ्नो पहिलो खेलमा काठमाडौं जनकपुरसँग ८ विकेटको फराकिलो अन्तरले हार्यो । त्यस खेलमा घरेलु खेलाडी भिम सार्की र रासिद खान बाहेक अन्य ब्याटर चल्न नसक्दा काठमाडौं ११५ रनमै अलआउट भयो । बलिङमा समेत थुप्रै विकल्प रहे पनि जनकपुरलाई रोक्न पर्याप्त भएन । काठमाडौंका हाइ प्रोफाल खेलाडी डेभिड वार्नर दोस्रो खेलमा उपलब्ध हुन सक्ने बताइएको छ । वार्नर दोस्रो खेलका लागि आएमा कर्णालीलाई समस्यामा पार्न सक्छन् । काठमाडौं आफ्नो ब्याटिङ र बलिङमा देखिएका कमजोरी सुधार गर्दै पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ ।

हेड टु हेड

एनपीएलमा विगतको प्रदर्शन हेर्दा यि दुईबीचको भेटमा काठमाडौं हावी देखिन्छ । पहिलो संस्करण ३ विकेटले जितेको काठमाडौं दोस्रो संस्रकण ५ विकेटले जितेको थियो । तर हालको प्रदर्शनलाई हेर्ने हो भने कर्णाली याक्स बलियो र लयमा देखिएको छ, जसले गर्दा यो खेलमा कडा टक्कर हुने आशा गर्न सकिन्छ ।

प्लेयर टु वाच

काठमाडौं गोर्खाज

करण केसी, कप्तान :

तीव्र गतिका बलर तथा आक्रामक हिटर करणको प्रदर्शन टोलीका लागि महत्वपूर्ण हुनेछ । शुरुआती ओभरमा विकेट निकाल्ने र तल्लो क्रममा रन बटुल्ने जिम्मेवारी उनको काँधमा छ ।

भीम सार्कीः

टोलीका अनुभवी तथा विदेशी ब्याटरले पहिलो खेलको असफलता बिर्सिएर जिम्मेवार ब्याटिङ गर्नुपर्ने दबाब छ । अधिकांश ब्याटर पहिलो खेलमा चुक्दा सम्हालिएका भीमबाट टोलीले उस्तै प्रदर्शनको अपेक्षा गरेको छ ।

कर्णाली याक्स

सोमपाल कामी, कप्तान

अनुभवी अलराउन्डर सोमपालले कप्तानी इनिङ खेल्दै बल र ब्याटबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पहिलो खेलमा किफायती बलिङसहित १ विकेट लिएका उनले दोस्रो खेलमा ४ विकेट र हारको मुखमा पुगिसकेको कर्णालीका लागि नटआउट ६२ रन बनाउँदै रोमाञ्चक जित दिलाएका थिए ।

गुल्शन झाः

कर्णालीका युवा तथा विदेशी स्टार खेलाडीको लगातारको राम्रो प्रदर्शन नै टोलीको शीर्ष स्थानको मुख्य आधार हो । एउटा रोचक संयोग, गुल्शनले दुवै खेलमा १३३ दशमलव ३३ को स्ट्राइक रेटमा हालसम्म ४० रन जोडिसकेका छन् । दुई खेलमा देखाएको लयको आधारमा उनीबाट टोलीले अन्तिम समयसम्म पनि जितको आशा गर्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *