भोटेकोशी बाढीको दुई महिना पूरा, विस्थापितको पुनर्स्थापन अझै अनिश्चित
काठमाडौं : गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएकाे विनाशकारी बाढीको दुई महिना पुगेको छ ।
बाढीमा ५ हजार २८५ जना बेपत्ता भएकोमा एक हजार ४५७ शव भेटिएको छ । त्यसमध्ये ११२ शवको मात्र सनाखत भएको छ । बाँकी शव जमिनमुनि व्यवस्थापन गरी डीएनए परीक्षणमार्फत सनाखतको प्रक्रिया अघि बढाइएको छ । रसुवाको लाङटाङ हिमालमा रहेको हिमनदी र चट्टानी भूभाग ल्हेन्दे हिमनदीमा खस्दा ल्हेन्दे खोला–भोटेकोशी–त्रिशूली–नारायणीमा आकस्मिक रूपमा बाढी आएको थियो ।
बाढीले रसुवागढी नाकासहित रसुवा र नुवाकोटका नदी आसपासमा ठूलो क्षति पुर्याएको छ । बाढीमा बेपत्तालाई मृत घोषणा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले पालिकालाई यससम्बन्धी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । बाढी गएको दुई महिना बित्दा पनि विस्थापितको पुनर्स्थापन अनिश्चित भएपछि उनीहरू पुरानै ठाउँमा फर्किन थालेका हुन् ।
संघीय सरकारले मासिक घरभाडा सहायता, अस्थायी आवास निर्माण र सुरक्षित जग्गा पहिचानको काम अघि बढाएको जनाएको छ । तर प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र विस्थापितहरू संघ सरकारको निर्णय कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । विस्थापित परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नहुँदासम्म बढीमा ६ महिनाका लागि मासिक आर्थिक सहायता दिने सरकारको निर्णय छ ।
चार जनासम्मको परिवारलाई मासिक १५ हजार र त्यसभन्दा बढी सदस्य भए हरेक थप सदस्यका लागि दुई हजार दिने व्यवस्था छ । सरकारले बाढीको उच्च जोखिम क्षेत्रमा पुनः बसोबास गर्न नमिल्ने हुँदा तत्कालै फर्केर बस्ने अवस्था नरहेको जनाएको छ । विस्थापित कतिपय होल्डिङ सेन्टरमा बस्दै आएका छन् ।

प्रतिक्रिया