एन्फा अध्यक्ष र महासचिवसहित ४ जनालाई स्पष्टीकरण सोध्ने बहुपत पक्षको निर्णय
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको बहुमत कार्यसमितिले अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा मुद्दा परेका उनीहरूलाई तीन दिनभित्र जवाफ दिन समय दिइएको छ।
ललितपुरस्थित एन्फा मुख्यालयमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। एन्फाका सहायक महासचिव बद्री भट्टराईका अनुसार घटनाको वास्तविकता र उनीहरूमाथि लागेको आरोपबारे सम्बन्धित व्यक्तिबाटै जानकारी लिन पत्राचार गर्न लागिएको हो। बैठकमा कार्यसमितिका २० मध्ये १२ जना सहभागी थिए।
बैठकले फिफा र सरकारसँग समन्वय गर्न उपाध्यक्ष दीपक खतिवडाको नेतृत्वमा समिति गठन गरेको छ। समितिले फिफा, एएफसी र नेपाल सरकारबीच समन्वय गरी एन्फाको निर्वाचन प्रक्रियाबारे आवश्यक छलफल अघि बढाउनेछ। त्यस्तै, प्रशासनिक काम र पत्राचारका लागि सहायक महासचिव बद्री भट्टराईलाई निमित्त महासचिवको जिम्मेवारी दिने निर्णय गरिएको छ।
एन्फाको विधानअनुसार कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरे बैठक बोलाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार बहुमत सदस्यले बैठक माग गरे पनि अध्यक्षले आह्वान नगरेपछि वरिष्ठ उपाध्यक्षको नेतृत्वमा बैठक बसेको हो। खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा मुद्दा परेका अध्यक्ष नेम्बाङ र महासचिव राई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
कोषाध्यक्ष जोशी १५ लाख र लेखापाल पाण्डे १२ लाख रुपैयाँ धरौटीमा छुटेका हुन्। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत जुन २४ देखि एन्फालाई निलम्बन गरेको छ। एन्फाको आन्तरिक विवाद र फिफाको निलम्बनका बीच बहुमत कार्यसमितिको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया