विदेश

इजरायलको राजनीतिमा नेतन्याहूको प्रभाव किन यति बलियो ?

२०८३ कार्तिक १२ गते २०:२२
इजरायलको राजनीतिमा नेतन्याहूको प्रभाव किन यति बलियो ?

काठमाडौं : इजरायलमा शक्तिशाली नेताका रुपमा सदावहार जमिरहेका प्रधानमन्त्री नेतन्याहू आखिर को हुन् ? राजनीतिमा उनको प्रभाव किन यति बलियो छ ?

तीन दशकदेखि इजरायली राजनीतिमा एउटा नाम बारम्बार दोहोरिइरहेको छ, बेन्जामिन नेतन्याहू । सन् १९९६ मा पहिलोपटक प्रधानमन्त्री बनेका नेतन्याहूले सत्तामा पुग्ने, सत्ता गुमाउने, प्रतिपक्षमा बस्ने र फेरि सत्तामा फर्किने अनेकौँ राजनीतिक उतारचढाव पार गरिसकेका छन् । उनै नेतन्याहू यतिबेला सातौँ पटक प्रधानमन्त्री बन्ने महत्वाकांक्षामा छन् । मंगलबार भएको संसदीय निर्वाचनको मतगणना जारी छ ।

रोचक त के छ भने, उनै नेतन्याहूमाथि देशको सुरक्षा गर्न नसकेको, गाजाको युद्ध लम्ब्याएको, न्यायपालिकाको स्वतन्त्रता कमजोर बनाउन खोजेको र भ्रष्टाचारसम्बन्धी मुद्दाको सामना गरिरहेको आरोप पनि छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा पनि उनको सरकारको आलोचना भइरहेको छ । तर, उनकै पार्टी जारी मतगणनामा सबैभन्दा अगाडि छ । अर्थात् कुनै पनि विवादले नेतन्याहूको राजनीतिक प्रभाव समाप्त गर्न सकेका छैनन् । आखिर नेतन्याहूको शक्ति के हो ? उनी कसरी तीन दशकसम्म इजरायली राजनीतिका सबैभन्दा प्रभावशाली पात्र रहन सफल भए ?

आज हामी यस विषयमा विस्तृतमा चर्चा गरौँ ।

इजरायलमा आमनिर्वाचन सम्पन्न भएको छ । मतगणना जारी छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी प्रारम्भिक गणनामा सबैभन्दा ठूलो दलका रूपमा अगाडि देखिएको छ । तर कुनै पनि राजनीतिक दलले संसद्मा स्पष्ट बहुमत हासिल गर्ने देखिएको छैन । इजरायलको संसद् नेसेटमा १२० सिट छन् । सरकार गठनका लागि सामान्यतः कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ ।

यो निर्वाचन सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि यो पहिलो आमनिर्वाचन हो। त्यसयता इजरायलले गाजामा व्यापक सैन्य अभियान सञ्चालन गरेको छ। लेबनान, सिरिया र इरानसँग सम्बन्धित सैन्य तनाव पनि इजरायली राजनीतिका महत्त्वपूर्ण मुद्दा बनेका छन् ।

त्यसैले यो निर्वाचनलाई देशको सुरक्षा, युद्धको परिणाम, बन्धकहरूको भविष्य, अन्तर्राष्ट्रिय सम्बन्ध र देशको आन्तरिक राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण घटनाका रुपमा हेरिएको छ । खैर, आज हामी कसले चुनाव जित्छ वा हार्छ भन्ने विषयमा होइन, बेन्जामिन नेतन्याहूको राजनीतिक प्रभाव किन यति बलियो छ भन्ने विषयमा छलफल गर्दैछौँ । त्यसैले अब हामी मुल विषयमा प्रवेश गरौँ ।

इजरायलभन्दा एक वर्ष कान्छा नेतान्याहू

सन् १९४९ अक्टोबर २१ मा तेल अभिभमा जन्मिएका नेतान्याहू इजरायलको स्थापना भएको एक वर्षपछि जन्मिएका हुन्। एक इतिहासकारका छोरा नेतान्याहू किशोरावस्थाको केही समय अमेरिका बिताएर स्वदेश फर्किएपछि सन् १९६७ मा इजरायली सेनामा भर्ती भए । उनले सायरेट मट्कल नामक विशेष सैन्य एकाइमा सेवा गरे । सन् १९७२ मा अपहरणमा परेको विमानबाट बन्धक उद्धार गर्ने अभियानका साथै सन् १९७३ को योम किप्पुर युद्धमा पनि उनी सहभागी भएका थिए ।

६ वर्षको सैनिक सेवापछि उनी अमेरिका गए र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी अर्थात् एमआईटीमा वास्तुकला र व्यवसाय व्यवस्थापन अध्ययन गरे । यही यात्रामा भएको अमेरिकी समाज, राजनीति र सञ्चारमाध्यमसँगको परिचय उनको भावी राजनीतिक जीवनका लागि महत्त्वपूर्ण बन्यो । सन् १९७६ मा युगान्डाको एन्टेबेमा बन्धक उद्धार अभियानका क्रममा उनका दाजु योनी नेतन्याहू मारिए। त्यसपछि बेन्जामिन नेतन्याहूले आतंकवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्यको पक्षमा वकालत गर्न थाले । उनले आतंकवादसम्बन्धी अनुसन्धान र बहसलाई अघि बढाउने संस्थासमेत स्थापना गरे ।

सन् १९८२ देखि १९८४ सम्म वासिङ्टनस्थित इजरायली दूतावासमा उपप्रमुखका रूपमा काम गरेका उनी सन् १९८४ मा संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत बने। त्यहाँ उनले अन्तर्राष्ट्रिय मञ्च र सञ्चारमाध्यममा इजरायलको पक्ष प्रस्तुत गरे । अंग्रेजी भाषामा प्रभावकारी रूपमा बोल्न सक्ने, पश्चिमी राजनीतिक वृत्तसँग परिचित र सुरक्षा विषयमा स्पष्ट धारणा राख्ने नेताका रूपमा उनको छवि निर्माण भयो । जसका कारण उनी इजरायलभित्र र बाहिर निकै धेरै रुचाइए ।

सन् १९९१ को खाडी युद्धका बेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा इजरायलको पक्ष प्रस्तुत गर्ने प्रमुख व्यक्तिमध्ये उनी एक थिए । यसले उनलाई इजरायलको सीमाभन्दा बाहिर चिनाएको थियो ।

सन् १९९३ मा नेतन्याहू लिकुड पार्टीको अध्यक्ष बने । त्यसपछि उनी विपक्षी नेताका रूपमा अगाडि आए । त्यतिबेला इजरायलमा प्यालेस्टाइनसँग शान्ति प्रक्रिया अघि बढिरहेको थियो।

प्रधानमन्त्री यित्जाक राबिन र प्यालेस्टिनी नेतृत्वबीच भएको ओस्लो सम्झौताले इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधान गर्ने आशा जगाएको थियो । तर सम्झौताले सुरक्षा जोखिम बढाउने र आवश्यक प्रत्याभूति नदिने नेतन्याहूको तर्क र अडानले उनलाई राजनीतिमा थप बनलियो बनायो । सन् १९९५ मा प्रधानमन्त्री राबिनको हत्या भयो। त्यसपछि सुरक्षा, शान्ति प्रक्रिया र राष्ट्रिय भविष्यबारे इजरायली समाजमा गहिरो बहस चल्यो ।

यही पृष्ठभूमिमा सन् १९९६ को निर्वाचनमा नेतन्याहूले सुरक्षासहितको शान्तिको एजेण्डा बोकेर लेबर पार्टीका नेता शिमोन पेरेसलाई चुनौती दिए । सन् १९९६ मे २९ मा भएको प्रत्यक्ष प्रधानमन्त्री निर्वाचनमा नेतन्याहूले पेरेसलाई अत्यन्तै कम मतान्तरले पराजित गरे । र, जुन १८ मा उनले प्रधानमन्त्री पदको शपथ लिए ।

नेतन्याहूको राजनीतिक शक्ति कहाँबाट आयो ?

प्रधानमन्त्री बनेपछि नेतन्याहूले आतंकवादविरुद्ध कडा नीति अपनाए । साथै प्यालेस्टिनी पक्षसँग हेब्रोन र वाई नदीसम्बन्धी सम्झौताहरू अघि बढाए । आर्थिक क्षेत्रमा विदेशी मुद्रा कारोबारमा रहेका केही प्रतिबन्ध खुकुलो पार्ने, सरकारी स्वामित्वका कम्पनी निजीकरण गर्ने र बजेट घाटा घटाउने नीति अघि बढाए ।

उनका समर्थकले उनलाई सुरक्षा र अर्थतन्त्र दुवैमा स्पष्ट धारणा राख्ने नेता मान्न थाले । तर उनको पहिलो कार्यकाल लामो हुन सकेन । सन् १९९९ को निर्वाचनमा उनी लेबर पार्टीका एहुद बराकसँग पराजित भए । त्यसपछि उनी प्रधानमन्त्री पदबाट बाहिरिए ।

तर त्यसपछि उनी फेर विभिन्न क्याबिनेटमा मन्त्री पनि बने अर्थात् हारेपछि हराएनन् । सन् २००२ मा विदेशमन्त्री बनेका नेतन्याहू त्यसपछि अर्थमन्त्री भए । उनले सरकारी खर्च नियन्त्रण, निजीकरण, कर सुधार र कल्याणकारी प्रणालीमा परिवर्तनजस्ता बजारमुखी आर्थिक नीतिहरू अघि बढाए ।

समर्थकले यिनलाई इजरायलको आर्थिक पुनरुत्थान र उच्च प्रविधिमा आधारित अर्थतन्त्रको विकाससँग जोड्छन् । आलोचकहरूले भने सामाजिक सहायता कटौती र असमानतासम्बन्धी असरमाथि प्रश्न पनि उठाउँछन् ।

सन् २००५ मा लिकुड पार्टीको नेतृत्वमा फर्किएका नेतन्याहू सन् २००९ मा पुनः प्रधानमन्त्री बने। यसपटक उनी लामो समय सत्तामा टिके । सन् २००९ देखि २०२१ सम्म उनले प्रधानमन्त्री पद सम्हाले।

यस अवधिमा उनले इजरायलको सुरक्षा, इरानको आणविक कार्यक्रम र अमेरिकासँगको सम्बन्धलाई आफ्नो नेतृत्वको मुख्य आधार बनाए ।

उनले आफूलाई इजरायलको सुरक्षाका लागि आवश्यक नेता भनेर प्रस्तुत गरे । समर्थकहरूले पनि उनको दाबीमा विश्वास गरे । यद्यपि आलोचकहरूले भने उनले सुरक्षा चिन्तालाई राजनीतिक समर्थन जुटाउने साधन बनाएको आरोप पनि लगाए ।

बहुमतबिना पनि सत्ता

एउटा रोचक कुरा के बुझ्न जरुरी छ भने इजरायलमा देशभर एउटै राष्ट्रिय निर्वाचन क्षेत्रका आधारमा समानुपातिक प्रतिनिधित्व प्रणाली छ । मतदाताले उम्मेदवारलाई छुट्टाछुट्टै होइन, पार्टीको सूचीलाई मत दिन्छन् । पार्टीले प्राप्त गरेको मतअनुसार संसद्का सिट बाँडिन्छन् ।

संसद्मा प्रवेश गर्न पार्टीले कम्तीमा ३.२५ प्रतिशत मत प्राप्त गर्नुपर्छ। तर सरकार बनाउन भने १२० सिटमध्ये कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ ।

सन् २०२२ को निर्वाचनमा लिकुडले ३२ सिट जितेको थियो। तर नेतन्याहूले शास, युनाइटेड टोरा जुडाइजम र दक्षिणपन्थी धार्मिक दलहरूसँग गठबन्धन बनाएर सरकार गठन गरे ।

यो उनको राजनीतिक शैलीको महत्त्वपूर्ण पक्ष हो । उनी केवल आफ्ना समर्थकको मतमा निर्भर छैनन्; आफ्नो पक्षका विभिन्न दलको समर्थनलाई एउटै राजनीतिक परियोजनामा जोड्ने क्षमता पनि राख्छन् ।

तर, सन् २०१९ मा चाँहि लगातार निर्वाचन भए पनि सरकार गठनको समस्या समाधान हुन सकेन । सन् २०२० मा नेतन्याहूले बेनी गान्ट्जसँग सत्ता साझेदारीको सरकार बनाए । सन् २०२१ मा विभिन्न वैचारिक धारका दलहरू मिलेर उनको सरकार विस्थापित गरे । त्यसपछि नफ्ताली बेनेट प्रधानमन्त्री बने र पछि यायर लापिडले पनि सरकारको नेतृत्व सम्हाले । नेतन्याहू विपक्षी नेता बने । तर सन् २०२२ को निर्वाचनपछि उनी पुनः प्रधानमन्त्री पदमा फर्किए ।

यसपटक नेतन्याहूलाई चुनौती दिने प्रमुख नेतामध्ये एक हुन् गादी आइजेनकोट । इजरायली सेनाका पूर्वप्रमुख उनी याशार पार्टीको नेतृत्व गर्छन् ।

अक्टोबर ७ : नेतन्याहूको सबैभन्दा ठूलो सुरक्षा प्रश्न

नेतन्याहूको राजनीतिक जीवनमा सबैभन्दा ठूलो सुरक्षा प्रश्न सन् २०२३ अक्टोबर ७ को आक्रमण बन्यो । नेतन्याहूले लामो समयदेखि आफूलाई सुरक्षा र आतंकवादविरुद्धको कठोर नीतिसँग जोड्दै आएका थिए । त्यसैले अक्टोबर ७ को आक्रमणले उनको राजनीतिक छविमै चोट पुर्‍यायो । आलोचकहरूले प्रधानमन्त्रीका रूपमा उनी राजनीतिक जिम्मेवारीबाट पन्छिन नसक्ने तर्क गरे। सुरक्षा निकायको विफलता, गुप्तचर सूचनाको मूल्याङ्कन, सीमाको सुरक्षा र सरकारको तयारीबारे स्वतन्त्र छानबिनको माग उठ्यो ।

तर नेतन्याहूका समर्थकहरूले हमासविरुद्धको युद्ध र इरानलगायतका प्रतिद्वन्द्वीविरुद्धको सुरक्षा नीतिमा उनको अनुभव आवश्यक रहेको तर्क गर्न छाडेनन् । त्यसो त नेतन्याहू सँधै निर्विवाद पात्र होइनन् । सन् २०२३ मा उनको सरकारले न्यायपालिकाको शक्ति सीमित गर्ने उद्देश्यले न्यायिक सुधार प्रस्ताव अघि बढाउँदा इजरायलमा विशाल प्रदर्शन भए । त्यसैगरी नेतन्याहूले भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको सामना गरिरहेका छन् । उनीमाथि घुस, ठगी र विश्वासघातसम्बन्धी आरोप छन् ।

तर यति हुँदाहुँदै पनि नेतान्याहूको राजनीतिक प्रभाव घटेको छैन ।

इजरायलको इतिहास युद्ध, आतंकवादी आक्रमण र क्षेत्रीय द्वन्द्वसँग गहिरो रूपमा जोडिएको छ । यस्तो अवस्थामा केही मतदाताले अनुभवी र कडा सुरक्षा नीति अपनाउने नेतामाथि भरोसा गरेको देखिन्छ । अर्कोतर्फ नेतान्याहूको लिकुड पार्टीसँग दक्षिणपन्थी र राष्ट्रवादी मतदाताको आधार छ । धार्मिक दलसँगको सहकार्यले उनीमाथि एकखालको सदावहार समर्थन जस्तो देखिन्छ । यससँगै अमेरिकाको संस्थापनसँग राम्रो सम्बन्ध रहिरहनु पनि इजरायलमा नेतान्याहूको प्रभाव जोगिइरहनुको एक प्रमुख कारण हो । अमेरिका इजरायलको सबैभन्दा महत्त्वपूर्ण सुरक्षा साझेदार हो। उसले इजरायललाई सैन्य सहायता, हतियार, प्रविधि र कूटनीतिक समर्थन प्रदान गर्दै आएको छ। नेतन्याहूले पनि अमेरिकी राजनीतिक नेतृत्वसँगको सम्बन्धलाई आफ्नो कूटनीतिक रणनीतिको महत्त्वपूर्ण हिस्सा बनाएका छन् ।

त्यसैले, समग्रमा के भन्न सकिन्छ भने नेतन्याहूले इजरायलको सुरक्षा चिन्तालाई आफ्नो राजनीतिक पहिचान बनाए, अन्तर्राष्ट्रिय कूटनीतिमा प्रभावशाली उपस्थिति स्थापित गरे, लिकुड पार्टीमाथि पकड कायम राखे र विभाजित राजनीतिक शक्तिहरूबीच गठबन्धन निर्माण गर्ने क्षमता देखाए । उनका समर्थकका लागि उनी संकटको समयमा देशको सुरक्षा गर्न सक्ने अनुभवी नेताका रुपमा स्थापित बने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *