‘अर्नब’ ले खतरनाक रूप लिएसँगै असर नेपालमा पनि देखिन थाल्यो
काठमाडौं : बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ ले खतरनाक रूप लिएसँगै यसको असर नेपालमा पनि देखिन थालेकाे छ। भोलि रातिदेखि अर्नब चक्रवातको प्रभाव हिमालदेखि तराईसम्मै पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चक्रवातको प्रभावका कारण आगामी शुक्रबार र शनिबार देशका धेरैजसो स्थानमा भारीदेखि अति भारी वर्षा र हिमपातको सम्भावना छ। चक्रवातको प्रभाव र आगामी पाँच दिनको मौसम कस्तो रहनेछ ?
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बुधबारबाटै चक्रवातको आंशिक संकेत देखिन थालिसकेकाे छ। तर भोलि कात्तिक १२ गते बिहीबार रातिदेखि भने मौसममा व्यापक फेरबदल आउनेछ। बागमती, कोशी र गण्डकीका हिमाली तथा पहाडी भूभाग र लुम्बिनीका केही स्थानमा बिहीबार राति भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आगामी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार देशभर अधिकांश बादल लागी मौसमी संकट उच्च रहनेछ।
कात्तिक १३ गते (शुक्रबार): देशभरका अधिकांश स्थानमा मध्यम वर्षा हुनेछ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा अति भारी वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना छ।
कात्तिक १४ गते (शनिबार): कोशी, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली-पहाडी भागमा भारीदेखि धेरै भारी वर्षा र हिमपातको जोखिम कायम रहनेछ।
कात्तिक १५ गते (आइतबार): आइतबारदेखि भने मौसममा सुधार आई आंशिक बादल मात्र लाग्नेछ। यद्यपि तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने महाशाखाको भनाइ छ।
वर्षा, हिमपात र चट्याङका कारण हुनसक्ने सम्भावित विपद्लाई ध्यानमा राख्दै यात्रा गर्दा तथा कृषि कर्म गर्दा उच्च सतर्कता अपनाउन मौसमविद्काे सुझाव छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार रातिदेखि शनिबारसम्म उच्च सतर्कता अपनाइएको जानकारी दिएको छ ।
(प्राधिकरणका अनुसार मौसमसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न सकिने छ । यसैगरी विपद्का बेला राष्ट्रिय तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४, नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ र पर्यटक प्रहरीको ११४४ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।)

प्रतिक्रिया