बोको हरामका नेता अबुबाकर शेकाउले आत्महत्या गरेको दाबी
२४ जेठ २०७८ नाइजेरिया । नाइजेरियाको विद्रोही समूह बोको हरामका नेता अबुबाकर शेकाउले आत्महत्या गरेको दाबी गरिएको छ ।
नेता अबुबाकर शेकाउले आत्महत्या गरेको अर्को विद्रोही समूहले दाबी गरेको हो । विद्रोही समूह इस्लामिक स्टेट वेष्ट अफ्रिका प्रोभिन्सको अडियो रेकर्डिङ्ग अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले प्राप्त गरेका छन् ।
उक्त अडियोमा शेकाउले दुई समूहबीचको भिडन्तपछि आफूलाई विष्फोट गराएको उल्लेख छ । अडियो रेकर्ड भएको मिति यकिन नभएपनि त्यसमा आइस्वापका नेता अबु मुसाब अल-बार्नावीले शेकाउले आत्महत्या गरेको बताएका छन् ।
उनको गएको महिना मृत्यु भएको दाबी गरिएको छ । यसअघि पनि उनी मारिएको खबर बाहिरिएको थियो । उता बोको हराम र नाइजेरिया सरकारले शेकाउको मृत्युको पुष्टि गरेका छैनन् ।
नाइजेरियाको सेनाले यसबारे थप अनुसन्धान भइरहेको र स्पष्ट नभएसम्म कुनै पनि वक्तव्य जारी नगर्ने जनाएको छ ।
प्रतिक्रिया