विदेश

कोरोना भाइरस उत्पत्तिबारे थप अनुसन्धान आवश्यकः डब्ल्यूएचओ

हिमालय टिभी
२०७७ चैत १८ गते ९:१६
कोरोना भाइरस उत्पत्तिबारे थप अनुसन्धान आवश्यकः डब्ल्यूएचओ

१८ चैत २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उत्पत्तिको निष्कर्ष बारे थप अनुसन्धान आवश्यक रहेको बताएको छ ।

डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले प्रयोगशालामा चुहावटका कारण भाइरसको उत्पत्ति नभएपनि यसबारे थप अनुसन्धान गर्नुपर्ने बताएका हुन् । चिनियाँ प्रयोगशालामा भाइरसको विकास गरिएको भन्ने तथ्यलाई पूर्णरुपमा खारेज गर्न थप अनुसन्धानको गर्नुपर्ने उनको भनाइ छ ।

अहिलेसम्मको अनुसन्धान र प्रमाणहरुबाट भाइरस प्रयोगशालाबाट उत्पत्ति भएको सम्भावना निकै कम रहेको उनले बताए । चीनको वुहानमा पहिलो पटक देखा परेको भाइरस उत्पत्तिको सम्भावित अनुसन्धान अध्ययन हिजो प्रकाशित गरिएको थियो ।

वुहानमा चार हप्ताको अध्ययन र १७ जना अन्तराष्ट्रिय विज्ञ सम्मिलित डब्लुएचओ टोलीले नयाँ प्रतिवेदन दिएका थिए । डब्ल्यूएचओ र चिनियाँ विज्ञले जारी गरेको प्रतिवेदनमा प्रयोगशालाबाट भाइरसको उत्पत्तिको सम्भावना असम्भव रहेको र भाइरस चमेरोबाट अन्य जनावरको माध्यमबाट मानिसमा सरेको हुन सक्ने उल्लेख छ ।

अमेरिकाले भाइरस चिनियाँ प्रयोगशालामा बनेको बताएको थियो । उता भाइरसको उत्पत्ति बारे अमेरिकासहित विभिन्न देशहले डब्ल्यूएचओलाई पर्याप्त डाटा र प्रमाण उपलब्ध नगराएको भन्दै चीनको आलोचना गरेका छन् ।

२ हजार १९ को अन्तिममा पहिलो पटक चीनको हुवेइ प्रान्तको वुहानमा भाइरस भेटिएको थियो । चीनले समेत भाइरस प्रयोगशालाबाट चुहावट भएको भन्ने भनाइलाई अस्वीकार गर्दै आएको छ ।

तर केही पश्चिमा देश तथा वैज्ञानिकहरुले भाइरस प्रयोगशालाबाट मानिसमा फैलिएको आशंका गर्दै आएका छन् । अहिलेसम्मका अनुसन्धान तथा प्रमाणहरुले भाइरस वुहानको मासु बजारबाट मानिसमा फैलिएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *