यमनमा एक साताभित्र विद्रोहीसहितको संयुक्त सरकार गठन हुने

Himalaya Television
२०७७ मंसिर २६ गते ७:३०

यमनमा एक साताभित्र विद्रोहीसहितको संयुक्त सरकार गठन हुने

२६ मंसिर, २०७७ यमन । यमनमा एक साताभित्र विद्रोही सम्मिलित संयुक्त सरकार गठन हुने भएको छ।

अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको यमन सरकार र दक्षिणी क्षेत्रमा स्वतन्त्र राज्यको माग गर्दै आएको एक विद्रोही समूहले संयुक्त सरकार गठनको तयारी गरेको साउदी अरब नेतृत्वको गठबन्धनले जनाएको छ।

वर्तमान् सरकार र विद्रोही समूह साउदर्न ट्रान्जिसनल काउन्सिल (एसटीसी) का कूल २४ मन्त्री रहने गरी नयाँ सरकार गठन गर्न दुबै समूहले सहमति जनाइसकेको र यसै हप्ता नयाँ सरकार गठन गरिने साउदी अरबको राज्य सञ्चालित साउदी प्रेस एजेन्सीले बताएको छ ।

केही दिनमा नै एसटीसीका सैनिकलाई व्यवस्थापन गरिने र तत्पश्चात नयाँ सरकार गठन हुने जनाइएको छ । लगातारको प्रयासपछि सत्ता साझेदारीका लागि साउदी अरबको पहलमा सन् २ हजार १९ को नोभेम्बरमा संयुक्त सरकार गठनको सम्झौता भएको थियो । तर, यो सम्झौता लागू गर्न कोरोनाको विश्वव्यापी महामारीका कारण हुन सकेको थिएन ।

दक्षिणी यमनमा सक्रिय एसटीसी र संयुक्त राष्ट्रसंघको पहलमा निर्माण गरिएको सरकार दुबैले यमनको अधिकांश उत्तरी भूभागलाई सशस्त्र हतियारको बलमा कब्जामा लिएको इरान निकट मानिने हुथी समूहसँगको लडाईंमा भने यस पहिलेदेखि नै सहकार्य गर्दै आएका थिए ।

यमनमा सन् २ हजार १४ देखि जारी युद्धका कारण अधिकांश सर्वसाधारण र द्वन्द्वरत पक्षका दशौं हजार सैनिक तथा लडाकूको मृत्यु भैसकेको छ । यमनले अहिले अति गहिरो मानवीय संकटको सामना गरिरहेको संयुक्त राष्ट्रसंघको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs