इण्डो–प्यासेफिक क्षेत्रमा नौसैनिक जहाज तैनाथ गर्ने अमेरिकी तयारी
७ मंसिर, २०७७ न्युयोर्क । इण्डो–प्यासेफिक क्षेत्रमा अमेरिकाले नौसेनिक जहाज तैनाथ गर्ने तयारी गरेको छ ।
गत साता अमेरिकी नौसेनाका सचिव केननेथ ब्रेथवेटले हिन्द महासागर र प्रशान्त महासागरको बिचमा नयाँ यूएस नेभी फ्लिट स्थापना गरेर अमेरिकी नौसेनाको जहाज तैनाथ गर्ने योजना बनाएको बताएका थिए ।
अमेरिका, भारत, अस्ट्रेलिया र जापानले संयुक्त रुपमा उत्तरी अरेबियन सागरमा संयुक्त सैन्य अभ्यास गरे पश्चात नै ब्रेथवेटले इण्डो–प्यासेफिक क्षेत्रमा यूएस नेभी फ्लिट स्थापना गर्ने बताएका थिए ।
शक्ति राष्ट्रहरूको मुख्य व्यापारिक जलमार्ग रहेको इण्डो–प्यासेफिक क्षेत्रमा अमेरिकी नौसेनिक तैनाथ भए चीनलाई ठूलो धक्का लाग्ने सैन्य विश्लेषकहरुले बताएका छन्।
उक्त क्षेत्रमा अमेरिकी नौसेनिक जहाज तैनाथ गर्ने विषयमा आफूले पूर्व रक्षामन्त्री मार्क एस्परसँग छलफल गरेको ब्रेथवेटको भनाइ छ। राष्ट्रपति ट्रम्पले गतहप्ता मात्र एस्परलाई पदबाट हटाएका थिए ।
हालका कार्यकारी रक्षामन्त्री क्रिस्टोफर मिलरसँग भने यस विषयमा निकट भविष्यमै छलफल हुने ब्रथवेटले बताए । विश्वव्यापी व्यापार मार्गहरूमा हिन्द महासागर महत्वपूर्ण कडी हो।
यहाँबाट करीब ८० प्रतिशत समुद्री कारोबार हुने गर्दछ। त्यस्तै चीनको ८० प्रतिशत तेल मलाक्का स्ट्रेट हुँदै जान्छ । सन् २ हजार १७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इण्डो(प्यासेफिक रणनीति ल्याएका थिए ।
प्रतिक्रिया