कोरोना संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन घोषणा

१३ कात्तिक, २०७७ पेरिस । फ्रान्समा फेरि लकडाउनको घोषणा भएको छ ।
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोनले यस वर्षको दोस्रो लकडाउनको घोषणा गरेका हुन् ।
कोरोना संक्रमणको दोस्रो लहरबाट प्रभावित फ्रान्सका राष्ट्रपति म्याक्रोनले टेलिभिजन सम्बोधनमार्फत भोलि शुक्रबारदेखि लागू हुने गरी पुनः लकडाउन गर्ने घोषणा गरेका हुन् ।
अबको लकडाउन कम्तिमा एक महिना कायम रहने फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । लकडाउनमा मानिसलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ ।
त्यस्तै रेष्टुरेन्ट तथा बारसहितका अत्यावश्यकभन्दा बाहिरका सेवा बन्द रहने छन् । तर विद्यालय र उद्योगहरु भने खुला रहने छन् । कोरोनाबाट शुरुमा युरोपमा बढी प्रभावित हुने मध्येको एक फ्रान्समा गत मार्चमा पहिलोपटक दुई महिनाको लकडाउन भएको थियो ।
फ्रान्समा पछिल्लो दिनमा संक्रमित तथा संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । त्यहाँ अहिलेसम्म संक्रमित संख्या १२ लाख ३५ हजार नाघ्दा ३५ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।
उता जर्मनीले पनि आपत्कालिन रुपमा लकडाउन लागू गर्ने भएको छ । तर त्यहाँको लकडाउन फ्रान्सको भन्दा खुकुलो हुने बताइएको छ । पछिल्लो समय फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउनको घोषणासँगै युरोपको वित्त बजारमा समेत त्यसको प्रभाव देखिन थालेको विज्ञहरुको भनाइ छ ।
प्रतिक्रिया