विश्वभरबाट कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्यलाभको कामना
१८ असोज, २०७७ न्युयोर्क । कोरोना संक्रमण भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलानिया ट्रम्पलाई विश्वभरका नेताले स्वास्थ्य लाभको कामना गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी लगायतले ट्रम्प दम्पतीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपति भण्डारीले सन्देशमा कोभिड(नाइन्टिन नियन्त्रण गर्नका लागि ठोस कदमहरु चाल्नुपर्नेमा जोड दिनुभएको छ ।
यस्तै चिनियाँ राष्ट्रपति सी जिनफिङ र उनकी पत्नी पेङ लियुआनले सहानुभूति प्रकट गर्दै ट्रम्प दम्पतीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
यसअघि नै अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार तथा ट्रम्पका प्रतिस्पर्धी जो बाइडेन, पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, बिल क्लिन्टन, उत्तर कोरियाली नेता किम जोङ उनलगायत दर्जनौं विश्व नेताहरूले सामाजिक सञ्जालमार्फत ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।
ट्रम्पले केही दिन अस्पतालमा भर्ना भई उपचार गराउने ह्वाइट हाउसले जनाएको छ । यसैबीच राष्ट्रपति ट्रम्पलाई गिलिड साइन्सेस नामक विश्व प्रसिद्ध औषधि कम्पनीले उत्पादन गरेको रेमडेसिभिर औषधि दिइएको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अक्सिजन दिनु नपरेको चिकित्सकको भनाइ छ । ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना संक्रमण भएको थियो । उनीहरू दुबै उपचारका लागि अमेरिकी सैनिक अस्पताल, वाल्टर रिड राष्ट्रिय सैनिक चिकित्सा केन्द्रमा भर्ना भएका छन् ।
प्रतिक्रिया