खेलकूद

साफ यु–२० च्याम्पियनसिप फूटबलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकियो

हिमालय टिभी
२०७९ साउन १७ गते १८:३०
साफ यु–२० च्याम्पियनसिप फूटबलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकियो

१७ साउन २०७९ काठमाडौं । भारतमा जारी २० वर्ष मुनिको साफ च्याम्पियनसिप अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग नेपालले १–१ गोलको बराबरी खेलेको छ ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा आज भएको पहिलो खेलमा पुनरागमन गर्दै नेपालले खेल बराबरी गरेको हो । बंगलादेशका लागि एहमद नोभा र नेपालका लागि निरन्जन मल्लले १–१ गोल गरे । खेलको सुरुवातदेखिनै नेपालले बलमा पकड बनायो ।

१६ औं मिनेटमा फ्रिकिकमा पाएको बल डिबक्समा रहेका कप्तान आयुष घलानले प्रहार गरे पनि विपक्षी खेलाडीले बचाए । १९ औं मिनेटमा सुमित श्रेष्ठको प्रहार बंगलादेशी डिफेन्डरले बचाए । ३४ औं मिनेटमा नेपालले गोलको राम्रो अबसर पाएपनि सदुपयोग गर्न सकेन् । आयुषलाई विपक्षी खेलाडी फाउल गरेपछि पाएको फ्रिकिक दिपेश गुरुङ फ्रेममा प्रहार गरेपनि बंगलादेशी गोलकिपरले पन्च गर्दै बचाए ।

दोस्रो हाफको सुरुवातमा दुवै टोली १०(१० खेलाडीमा झर्‍यो। मैदानको दायाँ भागबाट बल अघि बढाइरहेका कृतिश रन्त छुन्जुलाई बंगलादेशका रफिक्उल इस्लामले लडाएपछि खेल तनावपूर्ण बनेको हो । दुवै टोलीका खेलाडी हात हालाहालमा उत्रिएपछि रेफ्रिले बंगलादेशका १ र नेपालका २ जना खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

मैदानभित्र रहेका दिपेश गुरुङ र प्लेयर बक्समा रहेका रोहित सुब्बाले सिधै रातो कार्ड पाएका हुन् । नेपाली खेलाडीको मिस पासको फाइदा उठाउँदै अघि बढाएको बलमा एहमद नोभाले ६३ मिनेटमा बंगलादेशलाई अग्रता दिलाए । त्यसको ५ मिनेट पछिनै नेपाल खेलमा फर्कियो ।

सब्स्टीच्युट खेलाडी निरन्जन मल्लले ३ जना डिफेन्डरलाई बिट गर्दै डि बक्स बाहिरबाट लङरेन्जबाट गरेको सशक्त प्रहार गोलमा परिणत भयो । त्यसको २ मिनेटपछिनै बंगलादेशले खेलमा अग्रता लिने मौका गुमायो । खेलको अन्तिम समयमा बंगलादेशले २ वटा राम्रो गुमाउँदा खेल बराबरी भएको हो । बराबरीसँगै बंगलादेश १० अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको छ ।

७ अंक बनाएको नेपाल तालिकाको दोस्रो स्थानमा रहँदै गणितीय सम्भावना जिवितै राखेको छ । अब लिग चरणको अन्तिम खेलमा माल्दिभ्ससँग भारत पराजित भएको खण्डमा नेपाल फाइनल प्रवेश गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्