लिग टु क्रिकेटमा आज नेपालले स्कटल्याण्डको सामना गर्दै

१ साउन २०७९ काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टु मा आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ।
विश्वकप क्रिकेट लिग टु त्रिकोणात्मक शृंखला अन्तर्गत आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल आज स्कटल्याण्डमाथि लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहनेछ ।
शृंखला अन्तर्गत गएराति नामिबियाले नेपाललाई ६३ रनले पराजित गरेको थियो । दुई सय रन पछ्याएको नेपाल ३७ दशमलव ५ ओभरमा १३६ रनमै अलआउट भएको थियो ।
नेपालका दीपेन्द्र सिंह एेरीले ३८ तथा आशिफ शेखले ३४ रन बनाए । आफ्नो पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले हारेको थियो । दोस्रो खेलमा भने स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो ।
खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरू हुनेछ । शृंखलामा १९ खेल खेल्दै ८ जित र १० हारका साथ १७ अंक जोड्दै नेपाल अंक तालिकाको छैठौं स्थानमा छ । स्कटल्याण्ड २३ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया