युक्रेन युद्ध शुरु भएयता करिब १५ हजार संदिग्ध युद्ध अपराधका उजुरी

१८ जेठ २०७९ युक्रेन । युक्रेनमा युद्ध शुरु भएदेखि करिब १५ हजार संदिग्ध युद्ध अपराधका उजुरी परेको सार्वजनिक भएको छ ।
युक्रेनकी सरकारी अभियोजनकर्ता इरिना भेनेडिक्टोभाले युद्ध अपराधका दैनिक २ देखि ३ सय बढी उजुरी आएको बताइन् । हेगमा पत्रकारहरुसँग कुरा गर्दै उनले करिब ६ सय संदिग्धको पहिचान भइसकेको र ८० जनामाथि मुद्दा चलाउन थालिएको बताइन् ।
युद्ध अपराध गर्ने संदिग्धको सूचीमा रुसका शीर्ष सैन्य अधिकारी, राजनीतिज्ञ र प्रोपोगाण्डा एजेन्टहरू रहेका छन् । १५ हजार उजुरीमा पूर्वी डोनबास क्षेत्रमा धेरैको पहिचान गरिएको उनको भनाइ छ ।
भेनेडिक्टोभाले यातना, सर्वसाधारणको हत्या र नागरिक सम्पत्तिको विनाश पनि युद्ध अपराध भएको बताइन् । तर युक्रेन युद्धमा सर्वसाधरणलाई निशाना बनाएको वा युद्ध अपराधमा संलग्न रहेको आरोपलाई रुसले अस्वीकार गरेको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराधको विषय अनुसन्धानमा सहयोग गर्न युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो अनुसन्धानकर्ताको टोली पठाएको छ।
युक्रेनमा आवास क्षेत्रमा गोलाबारी गरेको आरोपमा दुई रुसी सैनिकलाई साढे ११ वर्षको जेल सजाय सुनाइएपछि यो घोषणा आएको हो।
प्रतिक्रिया