खेलकूद

अष्ट्रेलियालाई आईसीसी महिला विश्वकपको उपाधि, इंग्ल्याण्ड ७१ रनले पराजित

हिमालय टिभी
२०७८ चैत २० गते १५:०७
अष्ट्रेलियालाई आईसीसी महिला विश्वकपको उपाधि, इंग्ल्याण्ड ७१ रनले पराजित

१९ चैत २०७८ काठमाडौं । साविक विजेता इङ्ल्याण्डलाई ७१ रनले हराउँदै अष्ट्रेलियाले आईसीसी एकदिवसीय महिला विश्वकपको उपाधि जितेको छ ।

यो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको अष्ट्रेलियाको यो सातौं उपाधि हो । ३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्ड ४३ ओभर ४ बलमा २ सय ८५ रन बनाउँदै अल आउट भयो ।

कमजोर सुरुवात गरेको इङ्ल्याण्डका लागि मध्येक्रममा नाट सेभरले शतकीय पाली खेले पनि जित दिलाउन भने सकिनन् । १ सय २१ बलको सामना गरेकी सेभरले १५ चौका र १ छक्कासहित नटआउट १ सय ४८ रनको शानदार पाली खेलिन् । अष्ट्रेलियाको जितमा अलाना किङ् र जेस जेनसेन ३–३ विकेट लिए । त्यस्तै, मेगन स्कटको नाममा २ विकेट रह्यो ।

यसअघि, क्राइस्टचर्चमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धाारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५६ रन बनाएको थियो । महिला विश्वकप इतिहासमै फाइनलमा सर्वाधिक ठुलो योगफल बनाउने क्रममा अष्ट्रेलियाकी ओपनर एलेस्या हेली र राहेल हेन्सले पहिलो विकेटका लागि १ सय ६० रनको विशाल साझेदारी गरे ।

३० औं ओभरमा हेन्स ६८ रनको अर्धशतकीय पाली खेल्दै आउट भइन् । ४६ औं ओभरमा विष्फोट ब्याटिङ गरिरहेकी हेली एक दिवसीय करियरमा पाँचौं शतकीय पाली खेल्दै पेभेलियन फर्किन् । १ सय ३८ बल खेलेकी उनले २६ चौकासहित १ सय ७० रनको उत्कृष्ट पाली खेलिन् ।

विश्वकपकै सेमिफाइनलमा वेस्टइन्डिजविरुद्ध शतक बनाएकी उनको यो लगातार दोस्रो शतक हो । त्यस्तै, बेथ मुनीले पनि ६२ रनको अर्धशतकीय पाली खेलिन् । बलिङमा अन्या श्रुब्सोले ३ विकेट लिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्