विशेष महाधिवेशनको ८ महिनापछि कांग्रेसको १५औँ अधिवेशन सुरु
काठमाडौं : विशेष महाधिवेशनको ८ महिनामा नेपाली कांग्रेसले नियमित १५औँ महाधिवेशन सुरु गरेको छ ।
गत वर्षको पुसमा विशेष महाधिवेशन सम्पन्न गर्दा कांग्रेसले एक वर्षभित्र नियमित महाधिवेशन गर्ने घोषणा गरेको थियो । आज काठमाडौंको खुलामञ्चमा भव्य समारोहबीच चार दिनको कार्यतालिकासहित महाधिवेशन सुरु भएको हो । मुलुकका सबैजसो राजनीतिक दलका नेता तथा विदेशी पाहुनाको उपस्थितिमा आयोजित समारोहमा सभापति गगन थापाले महाधिवेशन उद्घाटन गर्नुभयो ।
पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनमा सहभागी हुन आग्रह गरिए पनि उहाँ सहभागी हुनुभएन । कार्यक्रममा सभापति थापाले खुलामञ्चको ऐतिहासिक महत्वबारे कुरा गर्दै विभिन्न ठाउँमा यस्तै राजनीतिक खुलामञ्च आवश्यक रहेको बताउनुभयो । उहाँले संसदमा प्रधानमन्त्रीसँग साक्षात्कार गर्ने तथा सरकारसँग नागरिकले साक्षात्कार गर्ने खुलामञ्च आवश्यक रहेको उल्लेख गर्नुभयो ।
थापाले पछिल्ला वर्षहरूमा राजनीतिक दल र नेताहरूको प्रवृत्तिप्रति चरम वितृष्णा बढेको उल्लेख गर्दै जेनजी आन्दोलन त्यसैको उपज भएको स्मरण गर्नुभयो ।
थापाले सरकारले ६ महिनामा धेरै काम गर्न सकेन भनेर आफूले आलोचना गर्न नचाहने भन्दै विश्व राजनीतिको चपेटामा परेको बेला गम्भीर भएर बढ्नुपर्ने बताउनुभयो ।
सभापति थापाले नेता कार्यकर्तालाई कसैसँग दुश्मनी नगरी सहमति र सहकार्यका साथ तल्लोस्तरमा रहेर काम गर्न आग्रह गर्नुभयो । उहाँले विगतमा पार्टी छोडेर गएकाहरूलाई फर्किने वातावरण निर्माण हुने गरी काम गर्न पनि नेता कार्यकर्तालाई आह्वान गर्नुभयो ।
अब भोलि सुरु हुने बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक लगायत विभिन्न प्रतिवेदनमाथि छलफल हुनेछ भने विधान संशोधन लगायतका काम सम्पन्न गरिनेछ । नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियासमेत भोलि नै सुरु गर्ने निर्वाचन समितिको तयारी छ । मुख्य गरी पर्सि र त्यसको भोलिपल्ट नयाँ नेतृत्व चयनका लागि मतदान लगायतका कार्यसूची छन् । महाधिवेशनमा ७ हजार ६ सय प्रतिनिधि सहभागी भएका छन् ।

प्रतिक्रिया