विदेश

रुसी निजी सैन्य समूह वाग्नरमाथि प्रतिबन्ध लगाउने बेलायतको तयारी

हिमालय टिभी
२०८० भदौ २० गते ९:०७
रुसी निजी सैन्य समूह वाग्नरमाथि प्रतिबन्ध लगाउने बेलायतको तयारी

२० भदौ २०८० लण्डन । बेलायत सरकारले रुसको निजी सैन्य समूह वाग्नरलाई आतंकवादी समूहको रूपमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

बेलायती संसदमा पेश हुने मस्यौदा आदेशले यसको सम्पत्तिलाई आतंकवादी सम्पत्तिको रूपमा वर्गीकृत गर्न र जफत गर्न अनुमति दिनेछ । यस संगठनको सदस्य हुन वा समर्थन गर्नु पनि अवैध मानिनेछ ।

गृह सचिव सुएला ब्रेभरम्यानले हिंसक र विनाशकारी भएको वाग्नर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सैन्य उपकरण भएको बताइन् । युक्रेन र अफ्रिकामा यसको काम विश्व सुरक्षाको लागि खतरा भएको उनको जिकिर छ ।

उनले वाग्नरको निरन्तर अस्थिर गर्ने गतिविधिले क्रेमलिनको राजनीतिक लक्ष्यहरू पूरा गरिरहेको बताइन् । वाग्नरले युक्रेनमा रुसको आक्रमणका साथै सिरिया, लिबिया र मालीलगायत अफ्रिकी देशहरूमा सैन्य सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

यसका लडाकुमाथि युक्रेनी नागरिकलाई मार्ने र यातना दिनेलगायत थुप्रै अपराधको आरोप लगाइएको छ । सन् २०१४ मा यस समूहको स्थापना गरेका एभगेनी प्रिगोजिनको गएको अगष्ट महिनामा संदिग्ध विमान दुर्घटनामा मृत्यु भएको थियो । वाग्नरसँग करिब ५० हजार सैनिक रहेको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *