आर्थिक

बजेटसम्बन्धी सांसदका प्रश्नमा अर्थमन्त्रीले गरे आफ्नो बचाउ (भिडियो रिपोर्टसहित)

२०८० जेठ २९ गते २१:२१
बजेटसम्बन्धी सांसदका प्रश्नमा अर्थमन्त्रीले गरे आफ्नो बचाउ (भिडियो रिपोर्टसहित)

२९ जेठ २०८० काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमाथि प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुभएको छ।

जेठ १५ मा संघीय संसदमा पेश भएको बजेटको राजस्व वृद्धिदरको लक्ष्य, सांसद विकास कोष, कृषिजन्य वस्तुमा लगाइएको भन्सार महसुल र विद्युतीय सवारीको कर लगायतका प्रश्नमा मन्त्री महतले आफूले लिएको नीतिको बचाउ गर्दै जवाफ दिनुभएको हो ।

सात दिनसम्म चलेको बजेटमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले बजेटको प्राथमिकता, करको दर निर्धारण, अर्थतन्त्र सुधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासबारे अर्थमन्त्रीसामु धेरै प्रश्न तेर्साएका थिए ।

त्यसमा पनि धेरै सर्वसाधारणले खरिद गरेको १०० किलोवाटसम्मको विद्युतीय गाडीको कर बढाएको र त्यसभन्दा माथि १०० देखि २०० र २०० देखि ३०० किलोवाट सम्मका विद्युतीय गाडीको कर घटाएको भन्दै अर्थमन्त्रीको चर्को आलोचना भएको छ । सांसदहरुले यो नीतिलाई उल्टो भनेका छन् । तर अर्थमन्त्री महतले आफ्नो नीति बचाउ गर्नुभयो ।

करका दर परिमार्जनमा कुनै घरानाको स्वार्थ पुरा गर्न लक्षित रहेको आरोप लागेका मन्त्री महतले त्यसलाई अस्वीकार गर्दै नेपालमा भ्याट संकुचन हुँदै गएको र भ्याट छुटको दायरा बढ्दै गइरहेकोले यसलाई सच्याउन खोजिएको स्पष्टीकरण दिनुभयो ।

राजस्वका हरेक शीर्षकको वृद्धि एउटै दरमा भएको विवरण भने सच्याउने प्रतिबद्धता मन्त्री महतले व्यक्त गर्नुभयो ।

कठिन परिस्थितिमा बजेट आएकाले समस्या एकै पटक सल्टाउन नसकिने भन्दै अर्थतन्त्रको सुधारलाई प्राथमिकतामा राखेको दाबी उहाँको छ ।

ढुंगामाटो निर्यातको बचाउ गरेका महतले बजेटमा चुरे भत्काउने नभनेको भन्दै उपयुक्त ठाउँ पहिचान गरि काम अघि बढाइने जवाफ दिनुभयो ।

किसानको संरक्षण गर्न, उत्पादन वृद्धि गर्न र आत्मनिर्भर बनाउन आलु प्याजमा भ्याट लगाएको मन्त्री महतको तर्क छ । मन्त्री महतले बजेटमा यी बस्तुमा भ्याछट लगाउनुभएको छ ।

महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको पनि बचाउ गर्नुभएको छ। यो कार्यक्रमको ५ करोड बजेट सांसदको खल्तीमा नजाने भन्दै यसमा आत्तिनु नपर्ने बताउनुभयो ।

मन्त्री महतले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याउनुभएको छ । त्यसमा ३ खर्ब २ अर्ब रुपैयाँ विकास बजेट छुट्याइएको छ । स्रोतका रुपमा १२ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने, २ खर्ब १२ अर्ब वैदेशिक ऋण लिने, २ खर्ब ४० अर्ब आन्तरिक ऋण लिने र ६ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्ने लक्ष्य लिएको छ । यी सबै लक्ष्य यथार्थपरक भएको दाबी गर्दै मन्त्री महतले लक्ष्य हासिल हुने जवाफ सांसदहरुलाई दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *