आकाशियो उपभोग्य वस्तुको मूल्य, सरकार गैरजिम्मेवार !
काठमाडौं : पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक रुपमा बढेको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको हो । सर्वसाधारण महंगीको मारमा पर्दा पनि नियन्त्रणमा सरकारको ध्यान खासै गएको छैन ।
अहिले खाना पकाउने ग्यासको चरम अभाव छ । एक सिलिन्डर ग्यासका लागि हप्तौँ पालो कुर्नुपर्ने अवस्था छ । अर्कोतर्फ भान्सामा दैनिक प्रयोग हुने तेल, दाल, चामल, माछा, मासु लगायतका उपभोग्य वस्तुको मूल्य पनि ह्वातै बढेको छ । साउन सुरु भएसँगै हरेकजसो बस्तुको मूल्य आकाशिएको उपभोक्ता गुनासो गर्छन् ।
अन्तर्राष्ट्रिय बजारमै धानको मूल्य बढेको भन्दै अहिले
चामलको मूल्य प्रतिकिलो १५ देखि २० रुपैयाँसम्मले बढाइएको छ । ब्रान्ड अनुसार केहीले भने मूल्य बोरामै २ सयसम्मले बढाएका छन् । तोरीको तेलको मूल्य २० रुपैयाँले बढेर प्रतिलिटर ३०० रुपैयाँ नाघेको छ । सूर्यमुखी तेल पनि १० रुपैयाँले बढेर २९० रुपैयाँ पुगेको छ । दाल तथा गेडागुडीको मूल्य पनि किलोमै २० रुपैयाँले बढेको छ भने चिनी पनि १५ रुपैयाँले मूल्य बढेर ११० रुपैयाँ पुगेको छ । यस्तै आलु र चनाको मूल्य पनि साउन १ यता निकै बढेको छ । चना २० रुपैयाँ र आलु १५ रुपैयाँले मूल्य बढेको खुद्रा व्यापारी बताउँछन् ।
योसँगै अन्डा र मासुको मूल्य अहिले आकाशिएको छ। साउन १३ गतेमात्रै अन्डा उत्पादक व्यवसायीहरुले प्रतिक्रेट ३५ रुपैयाँले मूल्य बढाएका छन् । बर्डफ्लुका कारण केही घटेको कुखुराको मासुको मूल्य पनि अहिले बढेर ३५० देखि ४०० सम्म पुर्याएका छन् । खसीको मासुको मूल्य त झन प्रतिकिलो ३ सय रुपैयाँसम्मले बढेर १७ सयसम्म पुगेको छ । यसका अलवा पसलैपिच्छे हरेक वस्तुको मूल्य बढेको छ । तर सरकारको ध्यान मूल्य नियन्त्रण गरेर नागरिकलाई कसरी राहत दिने भन्नेमा छैन ।
बजार मूल्य मनोमानी बढेको र नागरिक पीडामा परेको भन्दै मूल्य नियन्त्रणका लागि हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेका छन् । राष्ट्रिय सभाका सांसदहरुले छिमेकी मुलुक भारतमा एलपी ग्यास र पेट्रोलको मूल्य बढ्दा पनि नघटाएको त्यसैको मूल्य बढेको बहानामा दैनिक उपभोग्य वस्तुको मूल्यमा मनोमानी गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उपभोक्ताले भोग्नु परेको यो पिडालाई अहिलेसम्म सरकार र नियामक निकायले खासै चासो दिएको छैन । बजारमा सरकारको महसुस नागरिकले गर्न पाएका छैनन । तसर्थ, मूल्य वृद्धिको यही गति कायमै रहने र सरकार यसरी नै मौन बस्ने हो आगामी दिनमा बजारको स्थिति के होला ? चाडपर्व नजिकिदैछन् अनेकन बहानामा बढाइने मूल्यको सामाना नागरिकले कसरी गर्न सक्लान् ? यदि सरकारले समयमै बजार नियन्त्रण गर्न सकेन भने सरकारप्रतिको आशा र भरोसा कस्तो रहला ?

प्रतिक्रिया