आर्थिक

विदेशी मुद्राको सञ्चिति उच्च विन्दुमा, तर मूल्यवृद्धि पनि अचाक्ली (भिडियो रिपोर्टसहित)

२०८० जेठ २६ गते २०:२२
विदेशी मुद्राको सञ्चिति उच्च विन्दुमा, तर मूल्यवृद्धि पनि अचाक्ली (भिडियो रिपोर्टसहित)

२६ जेठ २०८० काठमाडौं । मुलुकको बाह्य क्षेत्र थप मजबुत बन्दै गएको छ । विदेशी मुद्राको सञ्चिति २० महिना यताकै उच्च विन्दुमा पुगेको छ । रेमिट्यान्स पनि १० खर्ब पाँच अर्ब रुपैयाँ भित्रिएको छ । तर मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिना वैशाखसम्म आइपुग्दा विदेशी मुद्राको सञ्चिति ११ अर्ब २० करोड डलर पुगेको छ । गत चैत मसान्तमा यस्तो सञ्चिति १० अर्ब ९४ करोड डलर थियो ।

गत भदौमा यस्तो सञ्चिती घटेर ९ अर्ब ३४ करोड डलर पुगेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३ दशमलव ४ प्रतिशतले वृद्धि हुनुको साथै आयात १८ प्रतिशतले घट्दा विदेशी मुद्राको सञ्चिति बढेको हो ।

नेपालबाट बाहिरिने भन्दा भित्रिने विदेशी मुद्रा बढी हुँदा शोधानान्तर स्थिति पनि बचतमा गएको छ भने चालू खाताको घाटा गिरावट भएको छ । गत चैतमा १ खर्ब ८० अर्ब रुपैयाँले बचतमा रहेको शोधानान्तर स्थिति वैशाखमा २ खर्ब १४ अर्ब रुपैयाँले बचतमा छ । यस्तै, गत वर्ष वैशाख मसान्तमा ५ खर्ब ४५ अर्ब रुपैयाँले घाटामा रहेको चालू खाता यो वर्ष वैशाखमा ५४ अर्ब ६७ करोड रुपैयाँमा झरेको हो ।

१० महिनामा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो रेमिट्यान्समा भएको २३ दशमलव ४ प्रतिशतको वृद्धि हो । मूल्यवृद्धिले भने वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिनाको अवधिमा ७ दशमलव ४१ प्रतिशत पुगेको छ ।

तर सरकारी वित्तको आन्तरिक अवस्था भने कमजोर छ । १० महिनामा संघीय सरकारको कुल खर्च १० खर्ब ४७ अर्ब ७६ करोड रुपैयाँ भएको छ । तर कुल राजस्व परिचालन ७ खर्ब ५६ अर्ब २५ करोड भएको छ । अर्थात २ खर्ब ९१ अर्ब घाटामा रहेको छ । यसले नेपालको अर्थतन्त्र संकटमै रहेको देखाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *