भरतपुर महानगरले दियो दूध उत्पादक किसानलाई ६ करोड बढी अनुदान (भिडियो रिपोर्टसहित)
२६ जेठ २०८० चितवन । चितवनको भरतपुर महानगरपालिकाले लिएको कृषि नीतिबाट भरतपुरका कृषकले अनुदान र राहत पाउँदै आएका छन् ।
पशुपालन र कृषिबाटै समृद्धिको जग बसाउन योजना अनुसार महानगरले दूध उत्पादक किसानलाई ६ करोड १२ लाख रुपैयाँ बराबरको अनुदान दिएको छ । यसबाट साढे ११ हजार किसान लाभान्वित भएका छन् ।
चितवनको भरतपुर महानगरपालिकाले दूध उत्पादक किसानलाई ६ करोड बाह्र लाख रुपैया अनुदान प्रदान गरेको छ । महानगरभित्रका ११ हजार ५ सय ३४ किसानलाई प्रति लिटर ३ रुपैयाका दरले अनुदान दिएको हो ।
२०७४ सालबाट प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन शुरु गरिएकोमा यस बर्ष बढाएर प्रतिलिटर ३ रुपैया दिन थालिएको महानगरले जनाएको छ । आर्थिक बर्ष २०७९-८० को स्वीकृत बजेटबाट महानगरभित्रका ७९ दुग्ध सहकारीलाई अनुदान दिइएको हो ।
यहाँ २ करोड ४ लाख लिटर दूध उत्पादन भएको थियो । देशभरका पालिकामध्य पहिलो पटक भरतपुरले नै सुरु गरेको र अहिले पनि सबैभन्दा धेरै दूधमा अनुदान दिने पालिका पनि भरतपुर नै हो ।
भरतपुर महानगरले पछिल्लो समय किसानको जीवनस्तर उकास्न पूर्वाधार विकास बजेटपछि कृषिमा बढी लगानी गरेको छ । महानगरले गाईभैसी प्रवद्र्धन कार्यक्रम, गोठ सुधार, जैविक सुरक्षा र घाँसमा आधारित पशुपालनमा जोड दिएको छ ।
चितवनका दुग्ध उत्पादक कृषकले भने बढी दूघ दिने गाई तथा भैँसीको नश्ल सुधार गर्नुपर्ने माग राख्दै आएका छन् । त्यसमा पनि महानगरले सहयोग गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा १ करोड ६२ लाख लिटर दूध उत्पादन भएको भरतपुरमा यस वर्ष २ करोड ४ लाख लिटर पुगेको छ ।
किसानले महानगरबाट प्रति लिटर ३ रुपैयाँ र बागमती प्रदेश सरकारबाट प्रतिलिटर २ रुपैयाँ अनुदान प्राप्त गरेका छन् । यससँगै अब भरतपुर महानगरभित्रका किसानले दूध उत्पादनमा प्रतिलिटर ५ रुपैयाँ अनुदान प्राप्त गर्ने भएका छन् ।
प्रतिक्रिया