Main News

काठमाडौं महानगरले सुरु गरेको सार्वजनिक शौचालय गायब ! (भिडियो रिपोर्टसहित)

२०७९ चैत ४ गते २०:५०
काठमाडौं महानगरले सुरु गरेको सार्वजनिक शौचालय गायब ! (भिडियो रिपोर्टसहित)

४ चैत २०७९ काठमाडौं । निकै तामझामका साथ गत जेठ १६ मा शुरु भएको काठमाडौं महानगरको सार्वजनिक शौचालय व्यवस्थापन योजना अलपत्र परेको छ । महानगरले सम्झौता अनुसार अनुगमन र सरसफाइका सामग्री उपलब्ध नगराउँदा निजी संस्थामा सञ्चालित यस्ता शौचालय बन्द भएका छन् ।

काठमाडौ महानगरपालिकाको गत जेठ १६ गते बसेको कार्यपालिका बैठकले, शौचालयमा सर्वसाधारणको सहज पहुँचका लागि महानगरभित्रका व्यावसायिक कम्पनी तथा संघसंस्थासँग सम्झौता गर्ने निर्णय गरेको थियो ।

नवनिर्वाचित प्रमुख बालेन शाहको तत्कालीन क्रेज र चर्चाले निजी व्यवसायी सहकार्यका लागि तयार पनि भए । बैंक, होटल, रेष्टुरेन्टलगायत विभिन्न संघसंस्था आफ्ना शौचालयलाई सार्वजनिक बनाउने होडमा लागे ।

त्यसबेला १५ दिनभित्रै ३५ वटा संस्थाले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि दिने घोषणा गरेका थिए । असारको पहिलो सातासम्ममा बैंक, रेष्टुरेन्ट, स्कूल र विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग आउँदो ५ वर्षका लागि सम्झौतासमेत भयो । लिखित सम्झौता नगरेर पनि यस्तो सेवा दिने रेष्टुरेन्टलगायत संस्थाको संख्या एक सयभन्दा माथि थियो । तर अहिले भने एकाध बाहेक अधिकांश स्थानका शौचालय कस्तो अवस्थामा छन्, आत्तोपत्तो छैन ।

ठमेल, दरबार मार्ग, नयाँ बानेश्वर, गौशाला र बौद्धलगायत व्यस्त स्थानहरुमा सार्वजनिक शौचालय सञ्चालनको होड चलेको थियो । सम्झौता गर्दा सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्यांकन गर्न दुवै पक्षबाट १र१ जना प्रतिनिधि तोक्ने र उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन दिने महानगरपालिकाले जानकारी दिएको थियो । प्रतिवेदनको शिलशिला कहाँ पुग्यो कुन्नि ?

महनागरको प्रतिनिधि राख्ने त टाढाको कुरा, शौचालयमा महानगरले तोकेको संकेत चिन्ह समेत छैन । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको थियो । गोलो रेखाभित्र निलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको चिन्ह खोज्न मानिसहरु कहाँ जानू पर्ने हो ? त्यो पनि अलमलकै बिषय बनेको छ ।

शुरुमा महानगरले शौचालयको सरसफाइका लागि आवश्यक ब्रस, क्लिनर, साबुन उपलब्ध गराउने निर्णय गरेको थियो । महानगरले लोगो दिए पनि सरसफाइका सामग्री भने नपाएको सञ्चालकको गुनासो छ ।

आफ्नै प्रतिबद्धता र सम्झौता कार्यान्वयन नगर्दा स्वतःस्फूर्त रुपमा हुन लागेको सहयोगसमेत महानगरले प्रयोग गर्न सकेन। यसबाहेक नयाँ महानगर प्रमुखले जगाएको आश पनि क्षणभरमै निराशामा परिणत भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *