खेलकूद

स्कटल्याण्डविरुद्ध नेपालको शानदार प्रदर्शन, दीपेन्द्र र कुशलको प्रदर्शन निर्णायक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ५ गते २१:३२
स्कटल्याण्डविरुद्ध नेपालको शानदार प्रदर्शन, दीपेन्द्र र कुशलको प्रदर्शन निर्णायक (भिडियो रिपोर्टसहित)

५ फागुन २०७९ काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु को च्याम्पियन स्कटल्याण्डलाई ३ विकेटले हराउँदै नेपालले आफ्नो एक दिवसीय मान्यता कायम राख्ने सम्भावना बलियो बनाएको छ ।

३ खेल बाँकी छँदै तालिकाको शीर्ष स्थान सुरक्षित गरिसकेको बलियो टोली स्कटल्याण्डविरुद्ध अलराउण्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको प्रदर्शन निर्णायक बन्यो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको आईसिसी लिग टु अन्तर्गत सिरिजको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई हराउँदै नेपालले अंक तालिका सुधार गर्यो । २ सय ७५ रनको लक्ष्य नेपालले ३ ओभर बाँकी छँदै ७ विकेट गुमाएर पुरा गर्यो । ४७ औं ओभरको अन्तिम बलमा क्रिस सोलले फालेको बललाई सोमपाल कामीले चौका प्रहार गर्दै नेपाललाई जिताए । नेपाललाई शान्दार जित दिलाउन दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले अर्धशतकीय पाली खेले ।

नामिवियाविरुद्धको टोलीमा रहेका ललित राजवंशीको स्थानमा गुलशन झालाई मैदान उतारेको नेपालको सुरुवात भने सन्तोषजनक हुन सकेन । तेस्रो ओभरमै ओपनर कुशल भुर्तेल र अर्का भरपर्दा ब्याटर ज्ञानेन्द्र मल्ललाई गुमाउँदा दबाबमा परेको नेपालले ७७ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । तर छैटौं विकेटका लागि कुशल मल्ल र दीपेन्द्रले १ सय रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काए ।

२८ औं ओभरमा कुशल ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रन बनाएर आउट भए । स्पिनर मार्क वाटको बलमा कुशल हम्जा ताहिरबाट क्याच आउट भएका हुन् । यसअघि कुशलले व्यक्तिगत ६ रनमा जीवनदान पाएका थिए ।

एक दिवसीयमा कुशलको यो दोस्रो अर्धशतक हो । दीपेन्द्रले १ सय १६ बलमा ८ चौका र १ छक्कासहित नटआउट ८५ रन बनाए । दीपेन्द्रको यो एक दिवसीय करिअरमा यो दोस्रो उत्कृष्ट प्रदर्शन हो । सोमपाल कामीले ३२ बलमा ३ चौकासहित नटआउट २४ रन बनाए । बलिङमा सोल र मार्क वाटले ३(३ विकेट लिए ।

यसअघि टस गुमाएर पहिले ब्याटिङका लागि डाकिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनायो । मध्यम सुरुवात गरेको स्कटल्याण्डका लागि अलराउन्डर माइकल लिस्कले विष्फोटक शतकीय पाली खेल्दा नेपाल सामु २७५ रनको लक्ष्य पेश गर्यो । मध्येक्रमका लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित नटआउट १ सय ७ रनको शान्दार शतकीय पाली खेले ।

कुनै पनि संरचनाको क्रिकेटमा यो उनको करिअरको पहिलो शतक हो । ३ खेल अगाडिनै लिग टु को च्याम्पियन बनेको स्कटल्याण्डले नेपालविरुद्ध अघिल्लो खेलका शतकधारी जर्ज मुन्शेसहित काइल कोट्जर र शफ्यान शरिफलाई बेन्चमा राख्दै २ खेलाडीलाई डेब्यु गराएको थियो ।

सुरुवाती ब्याटरहरु सस्तैमा आउट हुँदा एक समय स्कटल्याण्डले १ सय ११ रन बनाउँदा महत्वपूर्ण ६ विकेट गुमाइसकेको थियो । दयनीय अवस्थाबाट लिस्कले अविश्वसनीय पूनरागमन गराउँदै एक दिवसिय क्रिकेटमा व्यक्तिगत १ हजार रन समेत पुरा गरे ।

यससँगै एक दिवसिय अन्तर्राष्ट्रियमा लिस्क १ हजार रन बनाउने स्कटल्याण्डका नवौं खेलाडी समेत बने । पहिलो पटक नेपाल भ्रमणमा आएको स्कटल्याण्डकविरुद्ध सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै, कुशल मल्लले २ विकेट लिँदा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । जितसँगै नेपाल २६ खेलमा १० जितसहित २२ अंकका साथ छैटौं स्थानमा छ । ३४ खेलबाट ४८ अंक सहित शीर्षस्थानमा रहँदै स्कटल्याण्डले लिग टु को उपाधि जितिसकेको छ ।

लिग टु मा अब नेपालले १० खेल खेल्न बाँकी छ । एक दिवसीय मान्यता जोगाइराख्न अब नेपालले कम्तीमा ७ खेल जित्नु पर्ने हुन्छ । शीर्ष ५ मा पर्ने टोलीको एकदिवसीय राष्ट्रको मान्यता कायम रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्