१५ अर्बको लगानीमा केशरमहलमा खुल्दैछ लक्जरी होटल
काठमाडौं : लामो समयको प्रतिक्षापछि काठमाडौंको केशरमहलमा निर्माण भइरहेको लक्जरी होटल अब छिट्टै संचालनमा आउने भएको छ।
नेपालमा रहेका होटलमध्ये सबैभन्दा लक्जरी ब्राण्ड ‘द लक्जरी कलेक्सन’ को ७० प्रतिशतभन्दा बढी निर्माण सकिएको छ ।
अहिले डेकोरेसनको काम चलिरहेको छ । सन् २०२६ भित्रै होटल संचालनमा ल्याउने तयारी अनुसार काम भइरहेको छ । केशरमहलमा निर्माण भइरहेको होटलको आज मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड म्यारियटसहितका प्रतिनिधिले अवलोकन गर्नुभयो ।
म्यारियटले व्यवस्थापन गर्ने यो दक्षिण एसियाकै पहिलो लक्जरी होटल हुने गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले बताउुनभयो ।
पूर्वअध्यक्ष घलेका अनुसार नेपालमा हालसम्मकै सबैभन्दा लक्जरी ब्राण्ड ल्याएर नेपालमा महँगा पर्यटक ल्याउने योजनाअनुसार यो होटल निर्माण गरिएको हो ।
सबैभन्दा लक्जरी ब्राण्ड ल्याएर धेरैभन्दा धेरै खर्चालु पर्यटक नेपालमा ल्याउने चाहनाअनुसार म्यारियटको द लक्जरीसँग सम्झौता गरेको । एमआईटी ग्रुप होल्डिङ्सका संस्थापक जमुना घलेले बताउनुभयो ।
सन् २०१४ मा सुरु भएको यस होटलको निर्माण लागत १५ अर्ब पुग्ने अनुमान गरिएको छ ।
१३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटल विभिन्न कारणले निर्माणमा ढिलाई हुँदा लगानीसमेत बढेको छ। नेपालमा दक्ष जनशक्तिको उपलब्धता नहूँदा पनि निर्माण कार्य प्रभावित भएको छ।
होटल सञ्चालनमा आएपछि पाँच सयभन्दा बढीले रोजगारी पाउने छन् । २ सय २५ वटा कोठा रहने होटल बेसमेन्टबाहेक १७ तलाको छ । होटलमा दुई हजार जना अट्ने क्षमताको बैंक्वट हल, दुई वटा सभाहल, तीनवटा बैठक हल, चारवटा रेष्टुरेन्ट, फिटनेस क्लब, स्पा, इन्फिनिटिभ स्विमिङलगायतका अन्तर्राष्ट्रियस्तरका लक्जरी सुविधा उपलब्ध हुनेछन् ।

प्रतिक्रिया