खेलकूद

विजयी सुरुवातको दाउमा आयोजक क्यानडा

हिमालय टिभी
२०८३ जेठ २९ गते २०:३५
विजयी सुरुवातको दाउमा आयोजक क्यानडा

काठमाडौं :  फिफा विश्वकप २०२६ को समूह बी को पहिलो खेलमा आज राति सहआयोजक क्यानडा र युरोपेली राष्ट्र बोस्निया एण्ड हर्जगोभिनाबीच प्रतिस्पर्धा हुँदैछ । क्यानडाको टोरन्टो स्टेडियम बीएमओ फिल्डमा नेपाली समय अनुसार राति पौने १ बजे खेल सुरु हुनेछ । क्यानडामा यो खेल अगाडि औपचारिक उद्घाटन समारोह समेत आयोजना गरिनेछ ।

पहिलो पटक विश्वकप आयोजना गरिरहेको क्यानडालाई समूह बीबाट नकआउट पुग्ने बलियो दाबेदार मानिएको छ । घरेलु मैदान र दर्शकको समर्थन पाएको क्यानडा आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपमा जित निकाल्ने योजनामा छ । यता सन् २०१४ पछि विश्वकपमा फर्किएको बोस्निया एण्ड हर्जगोभिना पनि अंक खोस्ने रणनीतिमा छ ।

क्यानडा

सहआयोजक राष्ट्र हुनुको नाताले क्यानडामाथि विश्वकप इतिहासमै आफ्नो पहिलो जित दर्ता गर्नुपर्ने दबाब छ । मुख्य प्रशिक्षक जेसी मार्सको नेतृत्वमा रहेको यो टोलीसँग विपक्षीको रक्षापंक्तिलाई ध्वस्त पार्न सक्ने तीव्र गतिका उत्कृष्ट विङ्गर छन् । तेस्रो पटक विश्वकप खेल्न लागेको क्यानडाले हालसम्म समूह चरण पार गर्न सकेको छैन ।

बोस्निया एण्ड हर्जगोभिना

शारीरिक रूपमा बलियो र अट्याकिङ फुटबल खेल्ने बोस्निया एण्ड हर्जगोभिना ट्रान्जिसनल प्रेसर र एरियल ड्युलमा बढी निर्भर रहनेछ । प्राविधिक खेल बढी हुने यस समूहमा बोस्नियालाई डार्क हर्सका रूपमा हेरिएको छ । दोस्रो पटक विश्वकपमा फर्किएको बोस्नियाले १२ वर्ष अगाडी ब्राजिलमा भएको विश्वकपमा डेब्यु गरेको थियो ।

हेड टु हेड

क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाबीच इतिहासमा पहिलो भेट हुन लागेको हो । दुवै टोली फरक महादेश कोन्काकाफ र युरोपबाट प्रतिनिधित्व गर्ने भएकाले यी दुईबीचको रणनीतिक टकराव निकै चासोका साथ हेरिएको छ ।

प्लेयर टु वाच

क्यानडा

अल्फान्सो डेभिस

क्यानडाका कप्तान तथा स्टार लेफ्ट ब्याक विङ्गर अल्फान्सो डेभिस टोलीका मुख्य हतियार हुन् । विश्व फुटबलकै तीव्र गतिका खेलाडीमध्येका एक डेभिससँग एक्लै खेलको गति परिवर्तन गर्ने क्षमता छ । सन् २०२२ को विश्वकपमा क्यानडाका लागि पहिलो ऐतिहासिक गोल गरेका डेभिसको प्रदर्शन र काउन्टर अट्याकमा टोलीको रणनीति निर्भर रहनेछ ।

बोस्निया एण्ड हर्जगोभिना

एडिन जेको

अनुभवी स्ट्राइकर तथा कप्तान एडिन जेको बोस्नियाका लागि गेम चेन्जर हुन् । उमेरले ३९ वर्ष नाघिसकेका भए पनि उनको गोल गर्ने क्षमता र पेनाल्टी बक्सभित्रको उपस्थिति अझै पनि उत्तिकै खतरनाक छ। क्यानडाको रक्षापंक्तिलाई व्यस्त राख्न र एरियल बलमा गोल निकाल्न जेकोको अनुभव बोस्नियाका लागि निकै महत्त्वपूर्ण साबित हुनेछ । )

राउण्ड अफ ३२ को यात्रा तय गर्न दुवै टोलीका लागि यो खेल गर या मरको अवस्था जस्तै हो। क्यानडाको गति र बोस्नियाको अनुभवबीचको यो टक्कर निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *