खेलकूद

उपाधि दाबेदार पोर्चुगलको समूहमा कुन-कुन देश छन्?

हिमालय टिभी
२०८३ जेठ २३ गते २०:२१
उपाधि दाबेदार पोर्चुगलको समूहमा कुन-कुन देश छन्?

काठमाडौं : विश्व फुटबलका महारथी क्रिस्टियानो रोनाल्डो आफ्नो अन्तिम विश्वकप खेल्दै गर्दा जित्न बाँकी यहि एकमात्र उपाधि हासिल गर्ने लक्ष्यमा हुनेछन् ।

रोनाल्डोको विश्वकपमा लास्ट डान्सको सुरुवात समूह के बाट हुनेछ । यो समूहमा पोर्चुगलले कोलम्बिया, डिआर कंगो र डेब्युटान एसियाली टोली उज्वेकिस्तानको सामना गर्नुपर्नेछ ।

फिफा विश्वकप २०२६ को समूह के सबैभन्दा सन्तुलित र रोचक समूहमध्ये एक मानिन्छ । यहाँ युरोपेली पावरहाउस पोर्चुगललाई मुख्य दाबेदारका रुपमा हेरिएको छ ।

सम्भवत समूह विजेता बन्दै नकआउट पुग्ने टोली पोर्चुगलनै हुनेछ । तर अफ्रिकी महादेशको बलियो टोली डिआर कंगो, दक्षिण अमेरिकी टेक्निकल टोली कोलम्बिया र पहिलो पटक विश्वकप खेल्न लागेको उज्वेकिस्तानको उपस्थिति समेत हेर्न लायक हुनेछ ।

पोर्चुगल

यो समूहको सबैभन्दा बलियो र प्रमुख दाबेदार पोर्चुगल हो । क्रिस्टियानो रोनाल्डोको सम्भावित अन्तिम विश्वकप हुनसक्ने यस प्रतियोगितामा टोलीसँग ब्रुनो फर्नान्डेज, बर्नार्डो सिल्भा र राफेल लियो जस्ता विश्वस्तरीय खेलाडीहरूको बलियो सेट छ ।

प्राविधिक रूपमा उच्च स्तरको फुटबल र उत्कृष्ट आक्रामक पंक्ति यस टोलीको मुख्य हतियार हो । रोनाल्डो अझै पनि टोलीको केन्द्रमा छन् र उनको अनुभवले ठूलो प्रतियोगितामा निर्णायक क्षण सिर्जना गर्न सक्छ । तर युवा पुस्ताको आगमनसँगै अब सबै भार रोनाल्डोमात्र हुने छैन । टोलीको गहिराई र अनुभवका आधारमा पोर्चुगलको मिडफिल्ड र आक्रमणलाई रोक्न अन्य टोलीलाई निकै चुनौतीपूर्ण हुनेछ ।

कोलम्बिया

एक संस्करणपछि विश्वकपमा फर्किएको कोलम्बिया परिपक्व टोलीको रूपमा देखिएको छ । बलिया प्रद्विन्द्वी रहेको दक्षिण अमेरिकी छनोटमा तेस्रो हुनुले पनि टोलीको स्तर र स्थिर प्रदर्शन देखाउँछ । जेम्स रोड्रिगेजको नेतृत्व, लुइस डियाजको गति र रिचार्ड रिओसको मिडफिल्ड टोलीको बलियो पक्ष हो । उसको तीव्र आक्रमण शैलीले अन्य टोलीलाई समस्यामा पार्न सक्छ ।

डिआर कङ्गो

अफ्रिकी महादेशबाट छनोट भएर आएको डीआर कङ्गो शारीरिक रूपमा निकै बलियो र आक्रमक फुटबल खेल्ने टोली हो । टोलीमा युरोपका विभिन्न शीर्ष लिगहरू खेल्ने खेलाडीहरूको राम्रो उपस्थिति छ । काउन्टर अट्याक र रक्षात्मक रूपमा विपक्षीलाई थकाउन माहिर यो टोली ५२ वर्षपछि पाएको अबसरलाई ऐतिहासिक नतिजामा रुपान्तरण गर्न चाहन्छ ।

उज्बेकिस्तान

दशकौंको संघर्ष अनि निरन्तरको असफलतापछि यस पटक उज्बेकिस्तान पहिलो विश्वकप खेल्दैछ । पटक पटक छनोटको अन्तिम चरणसम्म पुगेर निराश भएको यो टोली ऐतिहासिक अबसरलाई अविस्मरणीय बनाउन चाहन्छ ।

उर्जावान युवा खेलाडी, अनुशासन, रक्षात्मक संगठन र काउन्टर अट्याक यसको विशेषता हो । ठूला प्रतियोगिताको अनुभवमा कमी देखिएपनि संगठित टोलीनै यसको बलियो पक्ष हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *