Main News

गण्डकी प्रदेशमा नेपाली कांग्रेसले गर्‍यो संसदको अपमान (भिडियो रिपोर्टसहित)

२०७९ माघ २८ गते १८:१७
गण्डकी प्रदेशमा नेपाली कांग्रेसले गर्‍यो संसदको अपमान (भिडियो रिपोर्टसहित)

२८ माघ २०७९ कास्की । गण्डकी प्रदेश सभामा सबै भन्दा ठुलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्षमा छ । सरकारको बागडोर सम्हाल्ने अवसर गुमाएको कांग्रेस संसदमा संख्याको हिसाबले बलियो प्रतिपक्ष हो । तर कांग्रेस सांसद प्रदेश सभाको बैठकमै उपस्थित हुँदैनन् ।

संसदीय दलको नेता चयन गरे पनि अन्य जिम्मेवारी विभाजन गर्न समेत कांग्रेसले सकेको छैन । संसदीय दलका नेतालाई नै सांसद कहाँ जान्छन् कुनै पत्तो छैन ।

शुक्रबार दिउँसो २ बजे बोलाइएको गण्डकी प्रदेश सभाको बैठकमा दुई वटा विषय छलफल गर्ने कार्यसूची थियो । तर बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसका सांसद भने निकै कम संख्यामा मात्रै उपस्थित थिए । प्रदेश सभाको सबैभन्दा ठुलो दल कांग्रेसका ९ जना सांसद नै बैठकमा अनुपस्थित भए ।

त्यसमा पनि दुई जना सांसद सरस्वती अर्याल र चम्पा खड्का बैठक सुरु भएको आधा धण्टा पछि मात्रै बैठक कक्षमा प्रवशे गरे । प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । सांसदको उपस्थिति अत्यन्त न्यून भएपछि प्रतिपक्ष दल तर्फको कुर्सी पूरै खाली थिए । प्रदेशसभालाई थप जिम्मेवार बनाउनुपर्ने प्रतिपक्षकै अनुपस्थितिले बैठक कक्ष निरस देखिन्थ्यो ।

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १८ गते सुरु भएको थियो । करिब ४० दिनमा ९ वटा बैठक बस्यो । तर कांग्रेसले संसदीय दलको नेता बाहेक अन्य पदाधिकारी समेत चयन गर्न सकेको छैन । सांसद लगाम विनाको घोडा जस्तो आफुखुसी बैठक छाडेर हिँड्ने गरेका छन् । संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई समेत सांसद कहाँ छन् भन्ने जानकारी छैन ।

नवनिर्वाचित प्रतिपक्ष दलका सांसदहरू अहिले नै संसदमा देखिन छाडिसकेका छन् । संसदमा आफ्ना दुःख‚ पीडा‚ समस्या राख्न गण्डकीवासीले चुनेर पठाएका सांसद भने संसद नै छाडेर कहाँ जान्छन् सबैको चासोको विषय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *