आर्थिक

कर्जा लिएर ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकताः गभर्नर अधिकारी

हिमालय टिभी
२०७९ माघ ७ गते १५:५५
कर्जा लिएर ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकताः गभर्नर अधिकारी

७ माघ २०७९ काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताउनुभएको छ ।

आज कृषि विकास बैंकको ५६ औं वार्षिक साधरण सभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट लिएको कर्जा तिर्नुपदैन भन्नु अराजकताको माथिल्लो रुप भएको बताउनुभएको हो ।

उहाँले बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनि संगठित रुपमा दबाब दिन नमिल्ने बताउनुभयो । गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नै यस्ता नयाँ किसिमका चुनौतीहरु देखिएको बताउनुभयो । उहाँले बैंकको कर्जा सार्वजनिक सम्पत्ति, सर्वसाधरणको निक्षेप भएको बताउनु भयो ।

उहाँले वाणिज्य बैंकहरुको अधिकांश कर्जा सर्वसाधरणको निक्षेप भएको भन्दै कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनियता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताउनु भयो । उहाँले व्यवसायी वा उद्यमीले लिएको कर्जा निश्चित समयभित्र तिर्ने स्वीकार गरेर लिएकाले कर्जा नतिर्नु वित्तीय अपराध हुने बताउनुभयो ।

गभर्नर अधिकारीले यस्ता अराजक कुरालाई कसैले पनि प्रश्रय दिन नहुने भन्दै राष्ट्र बैंक यो विषयमा सतर्क र सजग रहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता चुनौतीहरुले समग्र बैंकिङ प्रणाली, अर्थतन्त्रमा ठूलो असन्तुलन र व्यथिति ल्याउने बताउनुभयो ।

उहाँले ऋण लिएर तिर्नुपर्दैन भनेर कहीँ कतै विकसित भयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले राष्ट्र बैंक यो विषयमा सचेत र सतर्क रहेको भन्दै यस्ता अभियान र संर्घष लामो समय नटिक्ने बताउनुभयो ।

त्यस्तै गभर्नर अधिकारीले बैंकहरुलाई अहिलेको आधुनिकयुक्त उपभोक्ताहरुको आवश्यकता पूर्ति गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । उहाँले २०४५ सालमा सीमित बैंक हुँदा चेक साट्न जाँदा पासबुक बोकेर जानुपर्ने अवस्थाबाट अहिले डिजिटल आधुनिक प्रविधिमा आइपुगेको बताउनुभयो । उहाँले बैंकहरुले अहिलेको आधुनिक प्रविधिमा कहाँ छन् आफैले मूल्याङकन गर्नु आवश्यक रहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय क्युआरबाट मात्रै ५१ लाख कारोबारमा १९ अर्बको कारोबार हुने गरेको बताउनुभयो । गभर्नर अधिकारीले २५ अर्बको कारोबार कनेटआइपीएसबाट मात्रै भइरहेको बताउनुभयो । उहाँले नेपाली समाज अहिले त्यो प्रविधिमैत्री बनिसकेको भन्दै बैंकहरुको चुनौती प्रविधिमैत्री नभइ उपाय नभएको बताउनुभयो । उहाँले बैंकहरुले डिम्याट, मेरो शेयरमा मात्रै सीमित रहेर नहुने बताउनुभयो ।

गभर्नर अधिकारीले कृषि विकास बैंक कृषि वित्तीय क्षेत्रमा नयाँ ढङगले जानुपर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रमा पनि आधुनिकीकरण हुँदै गएकाले त्यही अनुसारको वित्तीय कारोबारको आवश्यकता भएको बताउनुभयो । उहाँले कृषि क्षेत्रको विकासका लागि कृषि विकास बैंकले नेतृत्व लिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *