Main News

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको राजीनामा

हिमालय टिभी
२०८३ भदौ २५ गते १७:४८
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको राजीनामा

काठमाडौं :  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिनुभएको छ ।

ग्यास उद्योगीहरुविरुद्ध आक्रामक अभिव्यक्ति दिएको भोलिपल्ट मन्त्री यादवले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनु भएको हो । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास व्यवस्थापन गर्न नसकेपछि मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा उद्योगीलाई पाता फर्काउनु पर्ने अभिव्यक्ति दिनुभएको थियो । उहाँले सरकारभन्दा कर्मचारीतन्त्र शक्तिशाली देखिएको भन्दै प्रशासनिक संयन्त्रमाथि पनि असन्तुष्टि जनाउनु भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघले भने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै अभिव्यक्ति फिर्ता लिन र उद्योगीसँग माफी माग्नुपर्ने बताएको थियो। यसअघि पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको र त्यससम्बन्धी सूचना चुहाएको आशंकामा मन्त्री यादवलाई थुनेर सोधपुछ गर्न प्रधानमन्त्री शाहले आईजीपी दानबहादुर कार्कीलाई गत असार १६ को राति निर्देशन दिनु भएको थियो । तर, त्यो प्रयास असफल भएपछि प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेञ्जनकारले मन्त्री यादवलाई फोन गरेर राजीनामा दिन भन्नुभएको थियो ।

बेञ्जनकारलाई जवाफ दिँदै मन्त्री यादवले आफू ‘राजीनामा दिन तयार रहेको तर राजीनामा पत्रमा कारण पनि खुलाउने’ जवाफ दिनुभएको थियो । त्यसपछि मन्त्रीको राजीनामा तत्कालका लागि टरेको थियो। गत चैत २७ गते मन्त्री नियुक्त यादवले ५ महिना मन्त्रालय सम्हाल्नुभयो ।

उहाँले राजीनामा दिएको ठाउँमा सुनसरीका सांसद दीपक शाह मन्त्री बन्नुहुने भएको छ । यादवको स्थानमा साहलाई मन्त्री बनाउने तय भएको प्रधानमन्त्री बालेन शाहको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्