आर्थिक

बगैँचासँगै घट्यो सुन्तलाको उत्पादन

२०७९ माघ ४ गते १४:४२
बगैँचासँगै घट्यो सुन्तलाको उत्पादन

४ माघ २०७९ लमजुङ । अन्य वर्षको तुलनामा केही वर्षयता लमजुङमा सुन्तला उत्पादन घटेपछि किसानहरु निराश भएका छन् ।

सुन्तलाको उत्पादन मात्रै नभएर सुन्तला बगैँचामा पनि कमी आएको छ । सुन्तला किसानहरुले व्यापारीसँग राम्रो मूल्यमा सुन्तला बिक्री गर्दै आएकामा केही वर्षयतादेखि सुन्तला उत्पादनमा कमी आएपछि किसानहरु निराश भएका हुन् ।

साबिकको कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत गरिएको बेँसीसहर नगरपालिका–११ चिती स्याउत गाउँमा अहिले सुन्तला बगैँचा मात्र देख्न सकिन्छ । कुनै समय सबैभन्दा बढी सुन्तला उत्पादन तथा बिक्री गरेर आम्दानी स्थानीय किसान भगवतीले पहिला–पहिला सुन्तला बिक्रीबाट वार्षिक छ लाखदेखि आठ लाख रुपैयाँसम्म आम्दानी गर्नुहुन्थ्यो । तर केही वर्षदेखि उहाँको भने बगैँचामा कीरा लाग्ने र बोट सुक्दै जाने गरेकाले यस वर्ष ४०/५० हजार रुपैयाँ मात्रै आम्दानी भएको बताउनुहुन्छ ।

त्यस्तै, स्याउत गाउँकै रमेशराज पन्तको व्यथा पनि उस्तै छ । विसं. २०३५ बाट सुन्तला खेति सुरु गर्नुभएको उहाँले विगतमा २७ रोपनीमा सुन्तला खेती गर्नुभएको छ । उहाँले वार्षिक तीन/पाँच लाख रुपैयाँ सजिलै आम्दानी गर्दै आउनुभएको थियो । तर २०६२ वैशाख ८ गते ठूलो असिनापानीले नौ सय बोट मर्नाका साथै अन्य बोटहरुमा पनि रोग लाग्न थालेपछि उत्पादन घटेको बताउनुहुन्छ ।

उहाँका अनुसार पहिला उत्पादन बढी भए पनि कम रकममा बिक्री हुन्थ्यो । अहिले धेरै बोट मरिसके, पहिले जसरी उत्पादन हुने भए अहिले वार्षिक ४०/५० लाख आम्दानी हुने पन्तको भनाइ छ । उहाँहरु प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँहरु जस्तै जिल्लाका अधिकांश सुन्तला किसानको समस्या यस्तै छ । सुन्तला खेतीमा भविष्य देखेका र बनाउँदै गरेका किसान कीरा र रोगका कारण आम्दानी घटेपछि चिन्तित भएका छन् । १२ देखि १४ वर्षमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगाहरु सुक्दै जाने, साना दाना लाग्ने, कम फल्ने समस्या आउने गर्दछ । तर समस्याको समाधान गर्न नसक्दा गाउँभरिका सुन्तला बारी सखाप हुन थालेको स्याउत गाउँका किसानहरु बताउँछन् ।

कत्लेकिरा, पतेरो लगायतका किराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरस जस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोट जस्ता काममा सुन्तला किसानहरुले ध्यान नपुगेकाले सुन्तला बगैँचा मासिँदै गएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो ।

साबिकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत गरेको साबिक चितिको स्याउत गाउँबाहेक तार्कुको गहते, करापुटारको बेतिनी, भोर्लेटारको लामासोती, भोटेओडार, उदिपुरको धिमिरे, गाउँसहर, लगायतका क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैँचा मासिँदै गएको किसानहरु बताउँछन् । लमजुङमा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, चितवन लगायतका सहर बजारमा राम्रो खपत हुने गरेको छ । तर अहिले उत्पादनमा कमी आएपछि जिल्लाकै लागि पनि उत्पादन अपुग भएको किसानहरुको भनाइ छ ।

यतिबेला प्रतिकिलो रु एक सय २० देखि एक सय ५० मा सुन्तला बिक्री वितरण हुँदै आएको छ । कृषि ज्ञान केन्द्र लमजुङका अनुसार यस चालू आर्थिक वर्ष जिल्लामा एक सय २५ हेक्टर जमिन क्षेत्रफलमा लगाइएको सुन्तला खेतीबाट पाँच सय २५ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको थियो । गत आर्थिक वर्ष २०७८/७९ मा एक सय ८० हेक्टर क्षेत्रफलमा एक हजार दुई सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा दुई सय १३ क्षेत्रफलमा एक हजार चार सय २४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *