आर्थिक

म्याग्दीमा नयाँ प्रविधिको बीउ आलु भित्र्याइयो

२०७९ माघ १ गते १२:१२
म्याग्दीमा नयाँ प्रविधिको बीउ आलु भित्र्याइयो

१ माघ २०७९ म्याग्दी । जलजला गाउँपालिकाले नयाँ प्रविधिको बीउ आलु भित्र्याएको छ ।

राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशील ताजा तरकारी तथा बीउ उत्पादक कृषक समूहमार्फत वडा नं ६ को लाम्पाटा बराहटोलमा सामूहिक पूर्व मूलबीउ रोपिएको हो ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय बीउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बीउ विस्थापित र बीउ आलुमा आत्मनिर्भर बनाउन पिविएम (पूर्व बीउ आलु) कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“जलजलाको धेरै भूगोलमा आलुखेती भए पनि वर्षौँदेखि एउटै बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकीराको समस्या देखियो”, उहाँले भन्नुभयो “गुणस्तरीय बीउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्व मूलबीउ भित्र्याइएको छ ।”

गाउँपालिकाका कृषि अधिकृत राजुप्रसाद गौतमले नौ रोपनी क्षेत्रफलमा खुमल सेतो १, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको ५३ हजार दुई सय दाना रोपिएको जानकारी दिनुभयो । अहिले लगाएको बीउ पाँच पुस्तापछि खायन (खानका लागि बीउ रोप्न) योग्य हुन्छ । हाल यहाँका कृषकले करिब ५० वर्ष पुरानो बीउ प्रयोग गर्दै आएका थिए ।

बीउ आलुमा आत्मनिर्भर कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको छ । चिहानकाटे, लाम्पाटा र रात्माटामा ८८ बोरा दोस्रो पुस्ताको बीउ आलु रोपिएको छ । दोस्रो पुस्ताको बीउ आलु कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । कृषकहरूलाई लगाउने ज्याला उपलब्ध गराउने र प्रतिकिलो रु २५ देखि ३० का दरले खरिद गर्ने सम्झौता भएको छ ।

अहिले लगाएको पुर्व विउ आलु उत्पादन भएपछि कृषकहरुबाट गाउँपालिकाले खरिद गरेर चिस्यानगृहमा राख्ने र पहिलो पुस्ताको विउ उत्पादन गर्न कृषकहरुलाई उपलब्ध गराउने जनाएको छ । पुर्व विउ आलु रोप्न शनिबार गाउँपालिकाका अध्यक्ष आचार्य, कार्यपालिकाको कृषि संयोजक हरिविकास जिसीले कृषकहरुसँगै श्रमदान गर्नुभएको थियो ।

राष्ट्रिय आलु विकास कार्यक्रमका प्राविधिक रमेश खतिवडाले भाइरस र रोगमुक्त पुर्व विउ आलु रोपिएको बताउनुभयो । “पुर्व विउ आलु पाँच सय दाना बराबर ७५ केजी उत्पादन हुन्छ,” उहाँले भन्नुभयो “कृषकले बजारबाट खरिद गरेको विउको गुणस्तर राम्रो नहुँदा रोग भित्रिएको, उत्पादन र गुणस्तर घटेको हो ।”

आलु विउ उत्पादनमा चासो देखाउने देशका सिमित स्थानिय तह मध्यमा जलजला रहेको प्राविधिक खतिवडाले बताउनुभयो । प्रगतिशिल कृषक समूहका अध्यक्ष बाबुराम रेग्मीले धेरै वर्षदेखि एउटै विउ लगाउँदा उत्पादन र गुणस्तर घटेपछि आफै विउ उत्पादन गर्न गाउँपालिकासँग साझेदारी गरिएको बताउनुभयो ।

उत्पादन भएको सबै बीउ गाउँपालिकाले खरिद गरिदिने सम्झौता भएकाले बीउ आलुलाई बजारको समस्या नहुने भएकाले उत्साही भएको प्रेमप्रसाद भुसालले बताउनुभयो । २४ वर्षदेखि आलुखेती गर्दै आएका नारायणदत्त सापकोटाले धेरै वर्षपछि आलुको बीउ परिवर्तन गर्न लागिएको बताउनुभयो । लुम्ले कृषि अनुसन्धान केन्द्रले धेरै वर्षअघि शालिजामा बीउ आलु भित्र्याएको थियो । वल्लोपल्लो गाउँका कृषकले साटेर सोही समयको बीउ र बजारबाट खरिद लगेर रोप्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *