Main News

गण्डकीमा आज सभामुखको निर्वाचन हुँदै

हिमालय टिभी
२०७९ पुष ३० गते ९:०९
गण्डकीमा आज सभामुखको निर्वाचन हुँदै

३० पुस २०७९ कास्की । गण्डकी प्रदेशमा आज सभामुख चयन हुँदैछ ।

सत्तारूढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुभएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको हिजो साँझ बसेको बैठकले गोरखा क्षेत्र नं १ (१) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभामुख चयनका लागि प्रदेशसभाको बैठक आज अपराह्न ३ बजे बोलाइएको छ । सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ । गण्डकीमा नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागवण्डा गरिएको थियो ।

सोहीअनुसार एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुङ्गो लगाइसकेको छैन ।

कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *