कसरी भयो स्पट फिक्सिङ? (भिडियो रिपोर्टसहित)

२५ पुस २०७९ काठमाडौं । नेपाल ट्वेन्टी–ट्वेन्टी लिग क्रिकेटमा फिक्सिङको आशंका गरिएसँगै धेरैको ध्यान तानिएको छ ।
नेपाली क्रिकेटकै सर्वोच्च निकाय नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको लिग फिक्सिङ जस्तो गम्भीर विवादमा तानिनु चिन्ताको विषय हो । यस विषयमा छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि स्पट फिक्सिङ भएको प्रारम्भिक अनुमान गरेको छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगितामा फिक्सिङको आशंका गरिँदा सुक्ष्म अनुसन्धान गर्नुपर्ने क्यान उल्टै म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको आरोप भ्रामक रहेको भन्दै पन्छिन खोजेको छ । क्यान आफ्नो जिम्मेवारीबाट पछि हटिरहँदा प्रहरीले भने अनुसन्धान अघि बढाएको छ । फिक्सिङको आरोप लागेदेखि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गरिरहेको छ ।
खेलका क्रममा हुने सट्टेबाजीमा निगरानी गरेको प्रहरी अनुसन्धान पछिल्लो समय फिक्सिङमा केन्द्रित बनेको हो ।
अनुसन्धानकै क्रममा सीआईबीले क्यान अध्यक्ष चतुरबहादुर चन्द, क्रिकेट म्यानेजर विनोद दास लगायत सम्बन्धित खेलाडी तथा अफिसियलहरुसँग सोधपुछ गरिरहेको छ । घटनामा संलग्न वा संलग्न हुन सक्ने सबैलाई उच्च निगरानीमा राखेर प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ ।
म्याच फिक्सिङका विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले समेत अध्ययन गरिरहेको छ । लामो समय आईसिसीको निलम्बनमा परेर फुकुवा भएको क्यान फिक्सिङ जस्तो गम्भीर विषयमा जोडिएपछि आईसीसीले केही दिन अगाडि नेपालमा प्रतिनिधि पठाएर छानबिन थालेको छ।
यस विषयमा छानविनका लागि नेपाली खेलकुदको अभिभावकिय निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपले पनि एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको छ । १५ दिनभित्र राखेपमा प्रतिवेदन बुझाउन निर्देशन पाएको कार्यदलले छानविनलाई तिव्रता दिएको र प्राप्त प्रमाणका आधारमा केही दिनमै सत्य तथ्य बाहिर ल्याउने तयारी गरिरहेको छ ।
प्रतिक्रिया