आर्थिक

सरकारको ढिलासुस्तीले धमाधम उधारोमा उखु बेच्दै किसान (भिडियो रिपोर्टसहित)

२०७९ पुष २३ गते १८:१२
सरकारको ढिलासुस्तीले धमाधम उधारोमा उखु बेच्दै किसान (भिडियो रिपोर्टसहित)

२३ पुस २०७९ पर्सा । बजारमा चिनीको मूल्य दिनहुँ बढ्दो क्रममा छ । तर त्यही चिनीको मूल स्रोत उखु बापत किसानले पाउने मूल्य भने घट्दै छ ।

सरकारले समयमा मूल्य निर्धारण नगर्दा झन् किसान मारमा परेका छन् । समर्थन मूल्य नतोकिँदै बारामा रहेको रिलायन्स सुगर मिल सञ्चालनमा आएपछि किसानले मिललाई उधारोमै उखु दिन बाध्य भएका छन् ।

अहिले बारामा रहेको रिलायन्स सुगर मिल क्रसिंग गर्न राखिएको उखु बोकेको ट्रक, ट्याक्टर र टायरले भरिभराउ छ । उखु खेतमै सुक्न थालेपछि किसानले उखु काटेर मिलमा धमाधम ल्याउन थालेका छन् । यिनी नगेन्द्र यादव । मिलको छेउमा उखु बोकेको ट्र्याक्टरमा सुतेर रात बिताउँछन् । मिललाई उधारोमै भएपनि उखु बेच्न उनले गरिरहेको संघर्ष पीडादायी छ ।

नागिन्द्र जस्तै दुर्योधन यादव पनि मिललाई उखु बेच्न रातभर यहीँ सुत्ने गर्छन् । हुनपनि बारा र पर्साका किसानका लागि उखु बेच्न पाउने यही एउटा मिल छ ।

गत वर्ष ५९० रुपैयाँमा उखु बेचेका किसान यो पटक बढ्ने अपेक्षामा छन् । तर, खेतमै सुक्नु भन्दा मिललाई उधारोमा बेच्न किसान लामबद्ध भएका छन् ।

उखु समयमै क्रसिंग नहुँदा तौल घट्दै गएर मिल र किसान दुवैलाई घाटा हुने देखेर मिलले क्रसिंगको काम सुरु गरेको हो । अहिले उधारोमा उखु खरिद गरेपनि सरकारले मूल्य निर्धारण गरेसँगै भुक्तानी दिनेगरी उखु किसानसँग सम्झौता भएको मिलको भनाइ छ ।

सम्झौता गरेपनि कति उखु विक्री भयो र कतिको मूल्य आउने हो भन्नेमै किसान ठगिने गरेका छन् । तर, ठगिने थाहा हुँदाहुँदै बेच्नुको विकल्प छैन । उखुको मूल्य तोक्न ढिलाई हुँदा किसान आन्दोलित हुन थालेका छन् । सर्लाहीका किसानले त सडकमै उखु जलाएर विरोध गरे । तर, उखु किसानको निराशा र विरोध सरकारले अहिलेसम्म सम्बोधन गर्न सकेको छैन । कहिले गर्ला भनेर किसान दिन गनेर बसिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *