आर्थिक

कुखुरापालन व्यवसाय जोगाउन निजी क्षेत्रको सक्रियता

२०७९ पुष १२ गते १३:२७
कुखुरापालन व्यवसाय जोगाउन निजी क्षेत्रको सक्रियता

१२ पुस २०७९ चितवन । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको कुखुरापालन व्यवसाय बचाउन निजी क्षेत्रले सक्रियता बढाएको छ ।

व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेपछि व्यवसायीले सक्रियता देखाएका हुन् । अण्डा, मासु र चल्लाको मूल्य लागतभन्दा निकै सस्तोमा बिक्री गर्नु परेपछि अधिकांश व्यवसायी धरासायी अवस्थामा पुगेका छन् । धेरैले बैंकको ऋण तिर्न सकेका छैनन् भने कतिपयको व्यवसाय नै बन्द भएको छ । बैंकहरुले लिलामीको सूचना निकाल्ने क्रम समेत सुरु भएको छ । दुई वर्षयता बढेको कच्चा पदार्थको मूल्य र बैंकको ब्याजदरले यो व्यवसायलाई असर पारेको हो ।

उत्पादित वस्तुले लागत मूल्य नपाएपछि व्यवसायमा समस्या देखापरेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार व्यवसाय जोगाउन मुस्किल अवस्थामा पुगेपछि देशभरका ठूला व्यवसायी सङ्गठित भएर अभियानकै रुपमा निजी क्षेत्रले काम थालेको छ । काठमाडौँ र वीरगञ्जमा कार्यालय नै खोलेर बजारीकरण व्यवस्थित गर्ने काम सुरु गरिएको छ । अन्य सहरमा कार्यालय स्थापना गरी व्यवसायीलाई सहयोग गरिँदैछ । व्यवसायीको बीचमा सहमति, सहकार्य र एकता कायम गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन सक्रिय भएको उहाँको भनाइ छ ।

सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार १० वर्ष पहिले एक क्रेट (३० वटा) अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुँन्थ्यो । अहिले कहिलेकाहीँ त्योभन्दा तल अण्डाको मूल्य पुग्छ । उहाँले भन्नुभयो, “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य उस्तै छ ।”

निजी क्षेत्रको सक्रियताले खपत बढेपछि अहिले अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय ६० पुगेको छ । ढकालको भनाइमा अहिलेको लागत मूल्य प्रतिक्रेट रु चार सय ५० हाराहारी छ । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने उत्पादक र सप्लायर्सबीचमा साझेदारी कायम गर्दै बजारलाई व्यवस्थित गर्नुपर्ने बताउनुहुन्छ । सरकारले समयमा सम्बोधन नगरेमा व्यवसाय समाप्त हुने उहाँको भनाइ छ ।

औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उहाँ बताउँनुहुन्छ । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु १६ थियो । हालै मात्र देशभरका धेरै कुखुरा पालक व्यवसायी सङ्गठित भएर अघि बढेका हुन् । पोख्रेलले लागत मूल्यसम्म पाउन सके किसान बच्न सक्ने बताउनुभयो । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँन्छ । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् ।

बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा शरण पाण्डेले समयमै सरकारले पोल्ट्री व्यवसायलाई सम्बोधन गनुपर्ने बताउनुभयो । १० औँ राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाइरहेको सन्दर्भमा सचिव पाण्डेले आत्मनिर्भर व्यवसाय बचाउनु राज्यको दायित्व भएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारको मन्त्रिपरिषद्ले अध्यादेश पास गरेर प्रदेश प्रमुखकोमा प्रमाणिकरणका लागि पुर्‍याएको पोल्ट्री विकास बोर्ड तत्काल गठन गरी काम गर्नुपर्ने बताउनुभयो । खाद्य पोषण सुरक्षाको महत्वपूर्ण स्रोत पोल्ट्री भएको भन्दै उहाँले यसलाई बचाउन सरकार र निजी क्षेत्र मिलेर लाग्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले न्यूनतम समर्थन मूल्य तोक्ने कार्ययोजना तयार गरेको उहाँको भनाइ छ ।

सरकारले मूल्य निर्धारण, गुणस्तर नियमन, रोगको नियन्त्रण, क्षतिपूर्तिको प्रत्याभूति, बोर्ड गठन गरेर गर्नुपर्ने उहाँ बताउनुहुन्छ । अहिलेसम्म कुखुराको दानाको अनुमतिपत्र र नियमित खाद्यमार्फत् हुँदै आएको छ । यसलाई प्रदेश सरकारमार्फत् गरिनुपर्ने उहाँ बताउनुहुन्छ । नेपालको पोल्ट्री व्यवसाय धरासायी बन्दै गएपछि भारतीय सीमा क्षेत्रमा मासु राख्न चिस्यान केन्द्र स्थापना गर्न थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *