आर्थिक

गुल्मीमा आज सुन्तला महोत्सव हुँदै

२०७९ पुष ७ गते ७:५२
गुल्मीमा आज सुन्तला महोत्सव हुँदै

७ पुस २०७९ रेसुङ्गा । गुल्मीमा कृषकलाई प्रोत्साहित गर्नका लागि सुन्तला महोत्सव आयोजना गरिने भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा आज महोत्सव गर्न थालिएको हो ।

अनमोल कृषक समूहको आयोजना तथा छत्रकोट गाउँपालिका, कृषि ज्ञान केन्द्र गुल्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला फलफूल जोन गुल्मी र उद्योग वाणिज्य सङ्घ गुल्मीको सहआयोजनमा सुन्तला महोत्सव हुन लागेको अनमोल कृषक समूहका अध्यक्ष विष्णुप्रसाद पन्तले जानकारी दिनुभयो ।

सुन्तला खेतीको विस्तार र विकास, बजारीकरणको सुनिश्चितता, स्थान विशेष पहिचान, कृषि पर्यटन प्रवद्र्धन, कृषकको उत्पादमा वृद्धि र स्वरोजगारका महोत्सव गर्न लागेको अनुमोल कृषक समूहका अध्यक्ष पन्तले बताउनुभयो ।

वडा नम्बर ३ लुम्छा छत्रकोटको सबैभन्दा बढी सुन्तला उत्पादन हुने वडा हो । यहाँ यस वर्ष एक करोड २७ लाख ७५ हजार बराबरको सुन्तला निर्यात हुने अगुवा कृषक विष्णुप्रसाद पन्तले बताउनुभयो । समग्र छत्रकोट गाउँपालिकाबाट यस वर्ष न्यूनतम दुई करोडको सुन्तला निर्यात हुँदैछ । यहाँबाट होलसेल मूल्य प्रतिकिलोग्राम रु ४० देखि ५० रहेको छ ।

सुन्तला महोत्सवमा सुन्तला र सुन्तलाका परिकारको प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसमेत हुनेछ । सुन्तला कृषकलाई सम्मान समेत गरिने छ । ‘सुन्तला फलफूल खेतीको भू–अनुकूल विस्तार र विकास, स्वरोजगार आयआर्जनबाट हुनेछ भरपर्दो निकास’ भन्ने मुख्य नाराका साथ छत्रकोट सुन्तला महोत्सव हुन लागेको हो । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले सुन्तला विशेष बाली भएकाले गुल्मेली सुन्तलाको प्रचारप्रसार, गुणस्तरको मापन र कृषकको आकर्षणको लागि सुन्तला महोत्सवले सहयोग पुग्ने बताउनुभयो ।

छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले सुन्तला उत्पादनमा कृषकलाई थप उत्साहित बनाउन र आन्तरिक पर्यटनमा छत्रकोट सुन्तला महोत्सवले टेवा पु¥याउने बताउनुभयो । उहाँका अनुसार महोत्सवमा लाखे नाच, बगैँचा अवलोकन र स्थानीय पञ्चेबाजासमेत प्रस्तुत गरिनेछ । छत्रकोटसँगै गुल्मीको भाडगाउँ, नयाँगाउँ, पिपलधारा र गुल्मीदरबारलगायतका ठाउँमा पर्याप्त मात्रामा सुन्तला खेती हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *