आर्थिक

धान विक्री नहुँदा किसानलाई यस्तो समस्या (भिडियो रिपोर्टसहित)

२०७९ पुष २ गते १५:५९
धान विक्री नहुँदा किसानलाई यस्तो समस्या (भिडियो रिपोर्टसहित)

२ पुस २०७९ कैलाली । सरकारले धानको मूल्य निर्धारण गर्‍यो । किसानको धान पनि किनिदिने आश्वासन दियो । सरकारले नै किनिदिने पाएपछि व्यापारी र बिचौलियालाई नबेचेका किसान अहिले मारमा परेका छन् ।

कैलालीमा अहिले पाँच क्षेत्रबाट धान खरिद सुरु गरिएको छ । तर, थोरै समय मात्र डिपो खुल्ने भएकाले सयौँ किसान रातभर डिपोबाहिर धान बेच्न जाग्राम बस्ने गरेका छन् ।

कैलालीको टीकापुर नगरपालिकाका कृपाराम चौधरी बिहीबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुग्नुभएको थियो ।

सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि बिक्रीका लागि उहाँ टीकापुर गोदाम पुग्नुभएको थियो । धान विक्रीका लागि तीन दिन देखि धाइरहेपनि उहाँको पालो आएको छैन । धान किन्ने डिपो बिहान ८ बजे खोलेर दुई बजे नै बन्द हुने गरेको उहाँको दुखेसो छ ।

यस्तै सत्तीको डिपोमा धान बिक्री गर्न पुगेका कृषक बन्दी चौधरीले धान बिक्रि गर्न कुरेर बस्नुभएको छ । कर्मचारीले टोकन दिएको बताउनु हुने उहाँ चिसोमा तीन रातदेखि हुनुहुन्छ । यहाँ पुग्ने अधिकांश किसानको गुनासो यही छ । सबै रातभर लाइन बस्दा समेत धान विक्री गर्न पाएका छैनन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका टिकापुर क्षेत्र प्रमुख पुष्पराज बजगाईले सरकारको निर्देशन पछि २७ गते देखि टिकापुर र सत्तीमा धान खरिद गरिएको जनाएको छ । तर, जनशक्ति अभाव हुँदा धान खरिद गर्न नसकिएको कम्पनीको भनाइ छ ।

त्यसमाथि कम्पनीले गुणस्तर हेरेर मात्रै धान खरिद गर्ने गरेको छ । पानीले नभिजेको, परालको टुक्रा, पोकटा नमिसिएको ताजा मोटा धान मात्र खरिद गर्न थालिएको छ । गोदामको अभावका कारण पनि किसानको धान विक्री भएको छैन ।

अहिले कम्पनीले जिल्लामा पाँच क्षेत्रबाट धान खरिद सुरु गरेको छ । टीकापुर नगरपालिकामा खाद्यको नगरपालिकाको वडा नं १ टीकापुर शाखा, वडा नं ७ सत्ती, धनगढी उपमहानगरपालिकाको मोहनपुर गोदाम, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाबाट धान खरिद थालिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मोटा धानको न्यूनतम मूल्य प्रति क्विन्टल दुई हजार ९ सय ६७ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ कायम गरेको छ । कात्तिकमै धानको समर्थन मूल्य निर्धारण गरिएको भए पनि धान खरिदको अधिकार नदिँदा खरिद प्रक्रिया सुरु हुन सकेको थिएन । तर, प्रक्रिया सुरु हुँदा धेरै किसानले धान बेच्न सकिरहेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *