खेलकूद

मधेस बागमती प्रदेशबीचको खेल बराबरी, कर्णालीलाई सुदूरपश्चिमले हरायो

हिमालय टिभी
२०७९ कार्तिक २१ गते १७:१४
मधेस बागमती प्रदेशबीचको खेल बराबरी, कर्णालीलाई सुदूरपश्चिमले हरायो

२१ कात्तिक २०७९ काठमाडौं । समूहको आफ्नो अन्तिम खेलमा बागमती प्रदेशसँग बराबरी खेल्दै मधेस प्रदेश प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बागमतीलाई बराबरीमा रोक्दै मधेसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले खेल सकिन ४ बल बाँकी छँदा सबै विकेट गुमाएर १ सय ९० रन नै बनायो । ९ विकेट गुमाइसकेको बागमतीलाई अन्तिम ओभरमा जितका लागि १ रन मात्र आवश्यक थियो । तर क्रिजमा रहेका बागमतीका रिजन ढकाल रन नबनाइ आउट भए ।

मधेशका राजेश यादव र प्रदीप पासवानले ३(३ विकेट लिँदा रुपेश सिंहको नाममा २ विकेट रह्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेस ४६ ओभर २ बलमा १ सय ९० रनमा अलआउट भयो । मधेसका रोहन विकले सर्वाधिक ६३ रन बनाए । बलिङमा बागमतीका स्पिनर सूर्य तामाङ र तीव्र गतिका बलर नन्दन यादवले ३(३ विकेट लिए ।

प्रतिश जि सी र रामनरेश गिरीले २(२ विकेट लिए । जितसँगै ३ खेलबाट ५ अंक जोडेको दोस्रो स्थानमा रहँदै मधेस प्रतियोगितामा पहिलो पटक सेमिफाइनल पुगेको छ । यस समुहमा पुलिस ६ अंक सहित शीर्षस्थानमा रहँदै अन्तिम ४ पुगेको छ । अब पुलिस र मधेसबीचको खेलले समुह विजेताको छिनोफानो गर्नेछ ।

समुह ए बाट एपिएफ ४ खेलबाट ७ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । अब भोलि हुने खेलमा कर्णालीलाई हराएको खण्डमा आर्मी उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्नेछ । तर कर्णाली विजयी भएको खण्डमा भने गण्डकी उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीलाई ५ विकेटले हराउँदै सुदुरपश्चिमले प्रतियोगितामा सान्त्वना जित निकाल्यो । १ सय ५१ रनको विजयी लक्ष्य सुदुरपश्चिमले २९ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ५० रन बनायो । जितसँगै सुदुरपश्चिम २ अंक बनाउँदै घर फर्किएको छ । यसअघिनै बाहिरीसकेको कर्णालीको यो लगातार तेस्रो हार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्