विश्वकपमा कतार र स्वीट्जरल्याण्डको पहिलो भेट
काठमाडौं : विश्वकप २०२६ मा शनिबार राति समूह बी का कतार र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । सनफ्रान्सिस्कोमा हुने खेल नेपाली समय अनुसार शनिबार राति पौने १ बजे सुरु हुनेछ ।
औसतस्तरका टोली रहेको समूह बी मा स्विट्जरल्याण्ड बलियो दाबेदार हो । युरोपेली फुटबलको अनुभवी र रणनीतिक कौशलताले भरिएको स्विट्जरल्याण्ड समूह विजेता बन्ने लक्ष्यमा रहँदा उदीयमान टोली बन्ने कतारको संघर्षले यो खेललाई रोचक बनाउनेछ ।
सहभागिता र प्राप्त सफलताका आधारमा स्विट्जरल्याण्ड यो समूहको बलियो टोली हो । तर पछिल्लो पटक घरेलु मैदानमा खेल्दै विश्वकपमा डेब्यु गरेको कतार दोस्रो सहभागितामा केही फरक नतिजा आत्मसाथ गर्ने दाउमा हुनेछ । कतार आफ्नो घरेलु महाद्वीप बाहिर विश्वकपमा बलियो छाप छोड्न चाहन्छ भने स्विट्जरल्याण्ड आफ्नो परम्परागत बलियो डिफेन्स र सन्तुलित खेलको मद्दतले नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ ।
स्वीट्जरल्याण्ड
वरीयताका आधारमा यस समूहको सबैभन्दा माथिल्लो स्थानमा रहेको स्विट्जरल्याण्डलाई समूह विजेता बन्ने मुख्य दाबेदार मानिएको छ । आफ्नो उत्कृष्ट संरचनात्मक अनुशासन र नकआउट ढाँचामा भरपर्दो प्रदर्शनका लागि परिचित यो टोलीसँग पछिल्ला ठूला प्रतियोगिताको व्यापक अनुभव छ । अनुशासित र संगठित खेल नै उसको बलियो पक्ष हो । अनुभवी खेलाडीको नेतृत्वमा रहेको स्विट्जरल्याण्डले सहजै समूह चरण पार गर्ने अपेक्षा गरिएको छ । १३ औं पटक विश्वकप खेल्न लागेको स्विट्जरल्याण्डको हालसम्मको उच्च सफलता ३ पटक क्वार्टरफाइनल पुग्नु हो ।
कतार
पछिल्लो संस्करण आयोजकका रुपमा विश्वकप खेलेको कतार मानसिक रूपमा बलियो र परिपक्व खेल व्यवस्थापनका साथ मैदान उत्रनेछ । प्राविधिक रूपमा सुधारिएको यो टोलीले आफ्नो पहिलो विश्वकप सहभागिताबाट ठूलो खेलको अनुभव बटुलिसकेको छ । एसियाली फुटबलमा बलियो टोलीको रुपमा उदाएको कतारले सन् २०१९ र २०२३ मा लगातार २ पटक एएफसी एसिया कपको उपाधि जितेको छ । राम्रो रणनीतिक तयारी गरेको कतारले युरोपेली वा उत्तर अमेरिकी विपक्षीहरूबाट अंक खोस्ने पूर्ण क्षमता राख्छ ।
हेड टु हेड
एसियाली च्याम्पियन कतार र युरोपेली पावरहाउस स्वीट्जरल्याण्डबीचको यो खेल रणनीतिक रूपमा निकै रोचक हुनेछ ।
यी दुईबीच अन्तर्राष्ट्रिय फुटबलमा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि सन् २०१८ मा स्वीट्जरल्याण्डमै भएको मैत्रीपूर्ण खेलमा घरेलु टोलीविरुद्ध कतारले १-० गोलको जित हासिल गरेको थियो ।
प्लेयर टु वाच
कतार
अक्रम अफिफ
एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका अफिफ कतारको आक्रमणका मुख्य हतियार हुन् । उनको गति, सिर्जनशीलता र काउन्टर अट्याकमा उत्रने क्षमता स्विट्जरल्याण्डको डिफेन्सका लागि चुनौतीपूर्ण बन्न सक्छ ।
स्वीट्जरल्याण्ड
ग्रानिट जाका
स्वीस टोलीका कप्तान तथा मिडफिल्डका मेरुदण्ड जाकाको प्रदर्शन खेल नियन्त्रणका लागि महत्वपूर्ण हुनेछ । उनको खेल बुझ्ने क्षमता र पिन पोइन्ट पासिङले कतारको मिडफिल्डलाई दबाबमा राख्न सक्छ ।
आइतबार बिहान समूह सी का २ वटा खेलसँगै समूह डी का अष्ट्रेलिया र टर्कीबीच पनि प्रतिस्पर्धा हुनेछ । क्यानडाको भ्याकुभरमा हुने यो खेल नेपाली समयअनुसार आइतबार बिहान पौने १० बजे सुरु हुनेछ ।

प्रतिक्रिया