Main News

आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

हिमालय टिभी
२०७९ भदौ ५ गते ९:०९
आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

५ भदौ २०७९ काठमाडौं । सरकारले आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।

यसअघि २७ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई खोप लगाएको सरकारले आजदेखि बाँकी ५० जिल्लाका बालबालिकालाई पनि खोप लगाउन लागेको हो । त्यसको लागि सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आजदेखि आउँदो शनिबारसम्म पहिलो र यही २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप लगाइनेछ । विद्यालय जाने उमेर समूहका बालबालिकालाई खोप लगाइने भएकाले विद्यालयमै सम्बन्धित बालबालिकालाई आफू अध्ययनरत विद्यालयमा खोप लगाउन मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आग्रह गर्नुभयो ।

उहाँका अनुसार विद्यालय नजाने बालबालिकाले नजिकैको विद्यालयमा गएर खोप लगाउन सक्नेछन् । प्रदेश १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा खोप सञ्चालन हुनेछ ।

मधेस प्रदेशका बारा रौतहट, सर्लाही गरी तीन जिल्ला र बागमती प्रदेशको रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक गरी ६ जिल्लामा खोप अभियान सञ्चालन हुनेछ ।
गण्डकी प्रदेशको बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप अभियान सञ्चालन हुने छ ।

लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम छन् भने कर्णाली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोटमा खोप लगाइने छ भने सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *