Main News

सरकारको प्रतिबद्धता र अभियन्तालाई गिज्याइरहेको बागमती (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ४ गते १७:१३
सरकारको प्रतिबद्धता र अभियन्तालाई गिज्याइरहेको बागमती (भिडियो रिपोर्टसहित)

४ भदौ २०७९ काठमाडौं । बागमती नदी धार्मिक, साँस्कृतिक र सभ्यताको धरोहर हो । यसको संरक्षणका लागि महोत्सवदेखि सफाइ अभियान पनि चलाइँदै आएको छ । तर, बागमती सफा हुन भने सकेको छैन ।

बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन बागमती नदी महोत्सव आयोजना हुँदै आएको छ । नदी सफाइ र सभ्यता संरक्षणको उद्देश्य राखेर २२ वर्षअघिदेखि महोत्सव आयोजना हुँदै आएको हो । शनिबार २२औँ बागमती नदी महोत्सव धुमधामका साथ मनाइयो ।

बागमतीको सामाजिक तथा धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण नदी ढलमा परिणत भएको थियो । २०५८ सालबाट बागमती महोत्सव सुरु गर्दै वर्षायाममा नदीमा र्‍याफ्टिङ चलाइयो । शनिबार पनि त्यसैलाई निरन्तरता दिइयो ।

बागमती नदी महोत्सव जस्तै उद्देश्य बोकेर २०७० साल जेठबाट नदी सफाइ अभियान पनि सुरु गरियो ।

बागमतीको पुरानो इतिहास सम्झँदै पुरानै अवस्थामा बागमती नदीको सौन्दर्यता कायम राख्न सफाइ अभियन्ता पनि सक्रिय छन् । सफाई अभियान सुरु भएको ४ सय ८४ हप्ता भइसक्यो तर, बागमतीले ढल र फोहरबाट अझै छुटकारा पाउन सकेको छैन ।

अभियन्ताहरु हरेक हप्ता बागमतीमा मिसिएको फोहर सफा गर्छन्, केही समय बागमती सफा भएजस्तो देखिन्छ । सफाई अभियान राम्रोसँग नहुने र बागमती नदीमा फोहर र ढल मिसाउने क्रम नरोकिंदा बागमती सफा हुने छाँटकाँट भने देखिँदैन । त्यसैले राजनीतिक दल र सरकार नै यो विषयमा जिम्मेवार हुनुपर्ने सफाई अभियानमा सहभागीको भनाइ छ।

अभियन्ताहरु सरकारको पूर्ण साथ खोजिरहेका छन् । सरकारी पक्ष पनि बागमती सफाइ अभियान सफल पार्न सबै सहयोग गर्ने प्रतिबद्धता जनाउँछ ।

सरकार सधै प्रतिबद्धता जाहेर गर्छ, अभियन्ताहरु पनि बागमती सफाई गर्न लागि परेकै छन् । बागमतीको अवस्था हेर्ने हो भने सरकारले गरेको प्रतिबद्धता र अभियन्ताले गरिरहेको कामलाई गिज्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *