Main News

भुक्तानी नहुँदा स्वास्थ्य बीमामा उपचार सेवा प्रभावित (भिडियो रिपोर्टसहित)

२०७९ असार २५ गते २०:५६
भुक्तानी नहुँदा स्वास्थ्य बीमामा उपचार सेवा प्रभावित (भिडियो रिपोर्टसहित)

२५ असार २०७९ काठमाडौं । स्वास्थ्य बीमा बोर्डबाट लामो समयसम्म भुक्तानी नपाउँदा देशका ठूला अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम नै रोक्न थालेका छन् । यसको प्रत्यक्ष मार बिरामीमा पर्न थालेको छ । तर स्वास्थ्य मन्त्रालय भने स्वास्थ्य संस्थाहरुले असहयोग गर्न नमिल्ने भन्दै बीमामा देखिएका समस्या दुईचार महिनामै समाधान हुने दाबी गर्छ ।

स्वास्थ्य बीमा बोर्डले देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थालाई करिब १३ अर्ब भुक्तानी गर्न बाँकी छ । वि.सं २०७२ सालमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा करिब ५५ लाख नागरिक आवद्ध छन् । तर बेलाबखतमा अस्पतालहरुले सरकारले बीमा रकम भुक्तानी नगरेको भन्दै बीमितलाई सेवा नदिँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल, धुलिखेल अस्पताल र वीर अस्पतालसहित विभिन्न निजी अस्पतालहरुले लामो समयदेखि बीमाबापतको भुक्तानी पाउन सकिरहेका छैनन् । बेलैमा भुक्तानी नपाउँदा बिरामीलाई स्वास्थ्य बीमाको सुविधा दिन नसकिरहेको अस्पतालको गुनासो छ ।

सरकारले देशका ४ सय ५० अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र सेवा उपभोगमा सुधार ल्याउन यो कार्यक्रम शुरु गरिएको हो । तर स्वास्थ्य बीमा बोर्डले सम्बन्धित संस्थालाई बेलैमा भुक्तानी नदिँदा सेवामा समस्या देखिएको हो । तर बीमा बोर्डले जस्तै स्वास्थ्य मन्त्रालय पनि जनशक्तिकै अभावमा अस्पतालहरुको भुक्तानी रोकिएको दाबी गर्छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएदेखि नै व्यवस्थित हुन नसकेको गुनासो आउने गरेको थियो । पछिल्लो समय यो विषय बजेटसँग पनि जोडिएको छ र थप अन्योल बढेको छ । यस्तो अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम खाली जनशक्तिको अभावमा मात्रै अल्झिएको जवाफ मन्त्रालयले दिने गरेको छ ।

कतिपय अस्पतालमा स्वास्थ्य बीमाको दुरुपयोगसमेत भएको गुनासो हुने गरेको छ । कतिपय ठाउँमा बीमितहरुले आधारभूत बाहेकका उपचार सेवा पाउन सकेका छैनन् । कतिपयमा चाहीँ लामो समयदेखिको भुक्तानी नपाएको भन्दै अस्पतालले सेवा नै बन्द गर्ने चेतावनी दिएपछि स्वास्थ्य बीमा कार्यक्रमसँग जोडिएका लक्षित नागरिकहरु थप मर्कामा पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *