खेलकूद

एसियाड प्रतियोगिता अनिश्चितकालका लागि स्थगित, २३ खेलको बन्द प्रशिक्षण भने शुरू (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २४ गते २१:०७
एसियाड प्रतियोगिता अनिश्चितकालका लागि स्थगित, २३ खेलको बन्द प्रशिक्षण भने शुरू (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७९ काठमाडौं । १९ औं एसियाली खेलकुद एसियाडका लागि नेपालले तयारी थालेको छ । चीनमा हुने तय भएको एसियाडमा नेपाल सहभागी हुने सबै २३ खेलको बन्द प्रशिक्षण आजदेखि शुरु गरिएको हो ।

प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भइसके पनि कुनै पनि समय खेलाडीलाई प्रतियोगिताका लागि तयारी अवस्थामा राख्ने राखेपको लक्ष्य छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा विशेष कार्यक्रमकाबीच सदस्य सचिव टंकलाल घिसिङले १९ औं एसियाली खेलकुद एसियाडमा नेपाल सहभागी हुने खेलका खेलाडीको बन्द प्रशिक्षणको उद्घाटन गरे ।

भदौ २५ गतेदेखि असोज ९ गतेसम्म चीनको होङझोउ शहरमा हुने तय भएको १९ औं एसियाड अनिश्चितकालका लागि स्थगित भइसकेको छ । प्रतियोगिता अनिश्चित भए पनि तयारी थाल्ने राखेको निर्णय अनुसार आजदेखि सहभागी हुने सबै २३ वटै खेलको बन्द प्रशिक्षण सुरु गरिएको छ । यसको एउटै उद्देश्य हो, एसियाडमा उत्कृष्ट नतिजा हासिल गर्नु । विगतमा पर्याप्त तयारीको अभावमा निराश बनेका खेलाडी राखेपको यो कदमबाट उत्साहित छन् ।

एसियाडमा २३ खेलमा सहभागी हुने निर्णय गरेको राखेपले पदक सम्भावनाका आधारमा खेल वर्गिकरण गरेको छ । जसमा एसियालीस्तरमा पदकको आशा गरिएको खेलमा तेक्वान्दो, कराते र बक्सिङ छन् । अन्य खेललाई साग गेम्समा पदक जित्ने लक्ष्य सहित तयारी थालिएको हो ।

गत वैशाखमा भएको छनोट प्रतियोगिताबाट छानिएका खेलाडी बन्द प्रशिक्षणमा राखिनेछ । पहिलो चरणको प्रशिक्षण असार २३ गतेसम्म संचालन हुनेछ । यसमा २३ खेलका २३० पुरुष र २८४ महिला गरी कुल ५१४ जना खेलाडी बन्द प्रशिक्षणमा रहनेछन् ।

यो प्रशिक्षण एसियाडका लागि मात्रै नभई अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका रुपमा रहेको र राष्ट्रिय टोलीलाई कुनै पनि समयमा कुनै पनि प्रतियोगिताका लागि तयारी अवस्थामा राख्ने उद्देश्य लिएको सदस्य सचिव घिसिङले बताए ।

१ महिना प्रारम्भिक प्रशिक्षणमा खेलाडीको प्रदर्शन र शारीरिक अवस्थाका आधारमा खेलाडीलाई दोस्रो चरणका लागि छनोट गरिनेछ । बन्द प्रशिक्षण काठमाडौं, ललितपुर, कञ्चनपुर, पोखरालगायतका स्थानमा संचालन गरिनेछ ।

पहिलो चरणको प्रशिक्षणको लागि राखेपले ५ करोड बजेट विनियोजन गरेको थियो भने दोस्रो चरणको प्रशिक्षणका लागि पनि बजेट पारित भइसकेको छ । पहिलो चरणमा सामान्य शारीरिक, मानसिक फिटनेस, मेडिकल, मानसिक, न्युट्रिशन परीक्षण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्