मन्त्री फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय अलपत्र (भिडियो रिपोर्टसहित)
२३ जेठ २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ।
एकीकृत समाजवादीले सचिवालय बैठकले निर्णय गरी पुराना मन्त्रीलाई फिर्ता बोलाएर हिजो मन्त्री हुने नामको सूची तयार पारेको थियो ।
अहिले बजेट अधिवेशन चलिरहेको र कात्तिकको अन्तिम वा मंसिरको पहिले हप्ता प्रदेश र संघीय निर्वाचन गर्नु पर्ने भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले समाजवादीको निर्णय कार्यान्वयन नगर्नु भएको हो ।
एकीकृत समाजवादीबाट मन्त्री भएकाहरुले पनि प्रधानमन्त्री देउवालाई भेटेरै संसद्मा बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने र पाइपलाइनमा भएका केही काम गरेर मात्रै फिर्ता हुने मनसाय व्यक्त गरेका छन्।
छापामार शैलीमा आफूहरुलाई हटाउने निर्णय भएको बताउँदै आएका मन्त्रीहरुले प्रधानमन्त्री पनि एकीकृत समाजवादीको निर्णयमा सन्तुष्ट नभएको दाबी गरेका छन ।
तर प्रधानमन्त्री कार्यालयले भने देउवाका कारणले नभइ एकीकृत समाजवादीकै आन्तरिक कारणले अहिलेसम्म नयाँ मन्त्रीको नाम औपचारिक रुपमा प्राप्त नभएको दाबी गरेको छ ।
समाजवादीको हिजो बसेको सचिवालय बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा मन्त्रीमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र हिरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गरेको थियो। नयाँ मन्त्रीले आज दिउँसो शपथ लिने बताइएको थियो । राष्ट्रपति कार्यालयले पनि शपथबारे कुनै जानकारी नआएको र तयारी पनि नभएको बताएको छ ।
समाजवादीका मन्त्री हेरफेरलाई लिएर आन्तरिक विवाद भएपछि प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच आज बिहान बालुवाटारमा छलफल भएको थियो।
नयाँ मन्त्रीहरुको शपथमा ढिलाइ भइरहेका बेला तीन शीर्ष नेताबीच बिहान करिब २ घण्टा बालुवाटारमा छलफल भएको हो। छलफलमा प्रधानमन्त्री देउवाले केही समयका लागि मन्त्रिपरिषद् हेरफेर गर्न आफूले नचाहेको बताउनुभएको थियो ।
प्रतिक्रिया