Main News

मेयर बालेन र प्रधानसेनापति शर्माबीचको भेटको रहस्य के ? (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १७ गते २१:२२
मेयर बालेन र प्रधानसेनापति शर्माबीचको भेटको रहस्य के ? (भिडियो रिपोर्टसहित)

१७ जेठ २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाका मतदाताले मेयरका रुपमा युवालाई छाने । बालेन्द्र साहले निकटतम प्रतिद्वन्द्वी सिर्जना सिंहभन्दा झण्डै दोब्बर मतले जित हात पार्नुभयो ।

तर, जितपछि उहाँले प्रधानसेनापतिसँग भेटेको प्रसंगले राजनीति वृत्त तातेको छ । जनताबाट चुनिएका जनप्रतिनिधि साहले प्रधानसेनापति प्रभुराम शर्मालाई किन भेट्नुभयो भन्दै प्रश्न उठाइएको छ ।

काठमाडौंको मेयरमा निर्वाचित बालेन्द्र साहले प्रधानसेनापति शर्माबाट भेटवार्ता शुरु गर्नुभयो । सोमबार भएको भेटवार्ताबारे साहले आफ्नोतर्फबाट टिप्पणी त गर्नुभएको छैन तर, सैनिक मुख्यालयले भने सद्भावना भेट भनेको छ । वक्तव्य जारी गर्दै नेपाली सेनाले प्रधानसेनापति शर्माले नवनिर्वाचित मेयर साहलाई बधाइ दिएको उल्लेख गरेको छ भने मेयर साहले सेनाको कामको प्रशंसा गर्नुभएको छ ।

यो भेटलाई लिएर सामाजिक सञ्जालमा मात्र होइन, राजनीतिक वृत्तमा पनि चासो राखिएको छ । केहीले त शंकाको दृष्टिकोणले पनि हेरेका छन् । कतिपयले बालेन्द्रलाई कुनै अमूर्त शक्तिको मुखपात्र भनेर टिप्पणी पनि गरेका छन् । तर, नेपाली सेनाका अवकाश प्राप्त उपरथी विनोज बस्न्यातले यसलाई सामान्यरुपमै लिनुपर्ने बताउनुभएको छ ।

संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाभित्र पर्ने सार्वजनिक जग्गा सेनाले प्रयोग गर्दै आएको छ । महानगरको कार्यालय र सैनिक मुख्यालय आमनेसामने पनि छ । सैन्य संगठनसँग महानगरले गर्न सक्ने सहकार्यकाबारेमा पनि यो भेटलाई लिन सकिने केहीको तर्क छ । कार्यपालिकाको पहिलो बैठकमा पनि सार्वजनिक जग्गाको विषयले प्राथमिकता पाएको अवस्थामा यो भेट महत्वपूर्ण हुन सक्ने सुरक्षाविद् बस्न्यातको बुझाइ छ ।

सेनाले यस किसिमको भेटघाटले काठमाडौं महानगरपालिकाबीच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध तथा सद्‍भाव थप प्रगाढ हुने विश्वास लिएको छ । तर, पहिलो भेट नै प्रधानसेनापतिसँग किन ? भन्ने प्रश्नमा मेयर साह मौन हुनुहुन्छ । चर्चामा रहेको यो भेटबारे सार्वजनिक जानकारी नगराउनुले उहाँको पारदर्शिताको मुद्दा नै छायाँमा परेको धेरैको बुझाइछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *