Main News

मधेसमा पनि कांग्रेस बन्यो पहिलो पार्टी (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १० गते २०:५३
मधेसमा पनि कांग्रेस बन्यो पहिलो पार्टी (भिडियो रिपोर्टसहित)

१० जेठ २०७९ काठमाडौं । एक सय ३६ स्थानीय तह रहेको मधेश प्रदेशमा अधिकांश पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । हालसम्म सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेस पहिलो दल बन्दा नेकपा एमाले दोस्रो दल भएको छ ।

नेपाली कांग्रेसले केही स्थान थप गरेको छ भने एमाले मधेश प्रदेशमा अन्य दललाई पछाडि पार्दै एकै पटक पाँचौबाट दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।

२ हजार ७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा मधेश प्रदेशमा ४० स्थानीय तहको प्रमुखमा जित निकाल्दै नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको थियो । त्यस्तै तत्कालीन संघीय समाजवादी फोरम २६ पालिकाको प्रमुख जित्दै दोस्रो र २५ पालिकामा जित निकाल्दै राष्ट्रिय जनता पार्टी तेस्रो दल बन्न सफल भएको थियो ।

२१ सिट जितेको माओवादी केन्द्र चौथो र नेकपा एमाले मधेशमा पाँचौ ठूलो दलका रुपमा स्थापित भएका थिए । १ सय ३६ स्थानीय तह रहेको मधेशमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आइसकेको छ । यस अघिको निर्वाचनमा पनि पहिलो दल बनेको कांग्रेसको अवस्था केही सुधार भएको छ ।

कांग्रेस ४३ स्थानीय तहको प्रमुख पदमा बिजयी हुँदै मधेसमा पहिलो दलको रुपमा यथावत रहँदा नेकपा एमाले पाँचौ दलबाट एकैपटक दोस्रो दलको रुपमा स्थापित भएको छ । २३ प्रमुख पदमा बिजयी बनेको एमालेले यसपटक माओवादी केन्द्र, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई उछिनेको छ ।

७४ सालको निर्वाचनमा एमाले यो प्रदेशमा १८ स्थानीय तहको प्रमुख पदमा बिजयी बनेको थियो । पहिले दोस्रो स्थानमा रहेको पार्टी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पार्टी अहिले जनता समाजवादी पार्टी बनेको छ भने मधेशमा एक सिट जितेको नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई अहिले जसपामै हुनुहुन्छ । जसपाले अहिले २२ स्थानीय तहको प्रमुख जित्दै दोस्रो दलबाट तेस्रो स्थानमा धकेलिएको छ ।

त्यस्तै ७४ सालको निर्वाचनमा मधेशमा तेस्रो शक्तिको रुपमा रहेको राष्ट्रिय जनता पार्टीका नेताहरु अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा छन् । अहिले लोसपा १० पालिकामा सिमित बन्दै मधेशको चौथो शक्तिमा चित्त बुझाउन बाध्य भएको छ । त्यस्तै विगतको निर्वाचनमा २१ स्थानीय तहको प्रमुखमा जित निकाल्दै मधेशको चौथो ठूलो दलको रुपमा रहेको माओवादी केन्द्र अहिले ९ स्थानीय तहमा जित निकाल्दै पाँचौ स्थानमा पुगेको छ । डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो पटक निर्वाचनमा होमिएको थियो ।

यो पार्टी मधेश प्रदेशमा २ स्थानीय तहको प्रमुखमा बिजयी भएको छ । तमलोपा र विवेकशील साझाले एक एक स्थानीय तहमा बिजयी भएका छन् । मधेशप्रदेशका जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार शाह सुडी निर्वाचित हुँदा महोत्तरीको बर्दिबासको नगरप्रमुखमा प्रल्हाद क्षेत्री निर्वाचित हुनु भयो ।

दुवै जना नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो । मधेश प्रदेशको नतिजाले मधेश प्रदेशमा सबैभन्दा उत्साहित नेपाली कांग्रेस र एमाले नै भएका छन् भने मधेश आन्दोलनबाट स्थापित भएका दलहरुलाई भने धक्का लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *