Main News

मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउने निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय

हिमालय टिभी
२०७९ वैशाख २३ गते १८:१८
मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउने निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय

२३ वैशाख २०७९ काठमाडौं । स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ ।

विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाविरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

केहीदिनयता विभिन्न सञ्चारमाध्यमहरुमा आसन्न वैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइने भनेर समाचार प्रकाशित भइरहेका छन् । तर स्वास्थ्यमन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने यस बारेमा हालसम्म मन्त्रालयबाट कुनै पनि निर्णय नभएको बताउनु भयो ।

सहप्रवक्ता अधिकारीले मत हाल्ने दिन सबैको ध्यान मतदानमा हुने भएकाले त्यो सम्भव नदेखिएको बताउनुभयो । उहाँले मतदान केन्द्रमा खोप लगाउने व्यवस्थाका लागि धेरै व्यवस्थापन गर्नुपर्ने भएकाले त्यो सम्भव नदेखिएको बताउनुभयो । सहप्रवक्ता अधिकारीले मन्त्रालय चुनावलाई मध्यनजर गरेर त्यसभन्दा अगाडि सबै व्यक्तिहरुलाई खोप लगाउने कुराहरु कसरी गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरिरहको बताउनु भयो ।

सहप्रवक्ता अधिकारीले सरकारको अहिलेको लक्ष्य मतदानभन्दा पछिका दिनहरुमा पनि खोप लगाउनुपर्ने व्यक्तिहरु विशेषतः एक मात्रा पनि खोप नलगाएका व्यक्तिहरु, दोस्रो मात्रा लगाउनुपर्ने बेला भएकाहरु र तेस्रो मात्रा लगाउने बेला भएका व्यक्तिहरुलाई क्रमशः प्राथमिकतामा राखेर सबैलाई चाँडै खोपको दायरामा ल्याउने रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *