Main News

मेयर नै आचारसंहिता उल्लंघन गर्दै, कारबाही गरेर देखाउन चुनौती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख १९ गते २१:०१
मेयर नै आचारसंहिता उल्लंघन गर्दै, कारबाही गरेर देखाउन चुनौती (भिडियो रिपोर्टसहित)

१९ वैशाख २०७९ काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब १० दिन मात्रै बाँकी छ । निर्वाचनलाई व्यवस्थित बनाउन निर्वाचन आयोगले भरपर्दो व्यवस्था गरेको जनाए पनि आचारसंहिता उल्लंघनको घटना बढ्न थालेका छन । त्यति मात्र हैन खुल्ला रुपमा आचारसंहिता उल्लंघनका घटना भैरहेका छन् । केही घटनामा निर्वाचन आयोगले स्पष्टीकरण सोधे पनि धेरै घटना निर्वाचन आयोगको आँखामा समेत पर्न सकेको छैन ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले आचारसंहिता उल्लंघनमा आफूलाई कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती दिनुभयो । पदमा बहाल रहेकै अवस्थामा निर्वाचन आचारसंहिता विपरीत एमालेको चुनाव प्रचारमा सक्रिय रहेका मेयर घिमिरेले आचारसंहिता उल्लंघनमा आफूलाई कारबाही गरेर देखाउन चुनौती दिनुभयो ।

प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता रहेका सुरेन्द्र श्रीले पनि आचारसंहिताविपरीत जिम्मेवारी लिनुभएको छ । उहाँ नगरको जनप्रतिनिधितर्फको प्रवक्ता पदमा बहाल रहेकै अवस्थामा एमालेको निर्वाचन प्रचारप्रसार समितिमा पनि हुनुहुन्छ ।

यो घटनाले निर्वाचन आयोगले आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न सकेको छैन र दलहरु खुल्लेआम उल्लंघन गरिरहेका छन् भन्ने पुष्टि हुन्छ ।
भरतपुर महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन त गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ सरकारी गाडीमा झन्डा हल्लाउँदै सुरक्षा दलबलसहित भरतपुरस्थित पौडेल निवासमै पुग्नुभयो । हेटौँडामा सरकारी कर्मचारी तथा शिक्षकहरु सामाजिक सञ्जालमा मत माग्ने मात्र हैन घरदैलो कार्यक्रममा सहभागी भएर मत आकर्षित गर्नेगरी भाषण नै गरिरहेका छन् ।

एकीकृत समाजवादीले भृकुटीमण्डपमा गरेको सभामा बालबालिका प्रयोग गरेको, माओवादी केन्द्रले चुनाव प्रचारमा कुलमान घिसिङको तस्वीर प्रयोग गरेको र राप्रपाले हेटौंडाको सभामा आचारसंहिता उल्लङ्घन गरेको विषयमा निर्वाचन आयोगमा उजुरी परेको थियो।

त्यस्तै निर्वाचन खर्चबारे अभिव्यक्ति दिएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालालाई पनि आयोगले सचेत गरायो । महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले एमालेका तर्फबाट काठमाडौं महानगरका मेयरका उम्मेद्‍वार केशव स्थापितसँग स्पष्टीकरण माग गर्‍यो । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई पनि आचारसंहिता लागू भएपछि विदेश भ्रमणमा गएको भन्दै स्पष्टीकरण माग्यो ।

आयोगमा निवेदन परेका केही घटनामा तत्परता देखाए पनि धेरै घटनामा आयोगको आँखा पुग्न सकेको छैन । आचारसंहिता कार्यान्वयन निर्वाचन आयोगको एकोहोरो काम भने हैन । पालना गर्छु भनेर प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका दलहरूले पनि आचार संहिताको दायरामा बस्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *